विराटनगर । लिफ्टिङ प्रविधिको प्रयोग गर्दै केही दिनयता विराटनगरका कतिपय स्थानहरुमा सिंगै घरलाई जुरुक्कै उचालेर एक ठाउँबाट अर्को ठाउँमा सारिएका दृश्यहरु सामाजिक सञ्जालहरुमा छ्यापछ्याप्ती भइरहेका छन् । बिराटनगरमा सडक नजिक पर्ने र डुबानको समस्या भएका घरहरु यसरी सारिएका हुन् । तर भवन निर्माण मापदण्ड विपरित सारिएका घरहरुको सुरक्षाको विषयमा पनि अनेक प्रश्न उठेका छन् ।
बिराटनगरमा केही दिनयता भवन निर्माण मापदण्ड विपरित लिफ्टिङ प्रविधिबाट पक्की घरलाई माथि उचाल्ने र एक ठाउँबाट अर्को ठाउँमा सार्ने काम भइरहेको छ । सडक नजिक पर्ने र डुबान र बाढीको समस्या भएका घरहरु सारिएका हुन् । प्रविधिको प्रयोगबाट सिंगै घर सार्ने काम भवन निर्माण मापदण्ड विपरित र सुरक्षाको दृष्टिकोणले पनि गम्भिर मानिएको छ । एक स्थानमा बनाइएका घरहरु यसरी सिंगै अर्को स्थानमा सार्दा घर कमजोर हुने चर्किने जस्ता समस्या आउने तर्फ कसैले पनि ध्यान दिएको छैन ।
राष्ट्रिय भवन आचारसंहिता, भवन ऐन र सम्बन्धित मन्त्रालयले जारी गरेको निर्देशिकामा पनि नयाँ अभ्यासका रूपमा देखिएको ‘लिफ्टिङ–सिफ्टिङ’ प्रविधिका बारेमा कुनै मापदण्ड नभएको विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले बताए । जमिनमुनि खाल्डो खनेर बसालिएको जगबाट घरलाई उचालेर अर्को ठाउँमा लैजादा असुरक्षाका प्रश्न उठ्नु स्वभाविक भएको कोइरालाको भनाइ छ । महानगरपालिकाले यो बारेमा घरनक्सा र योजना महाशाखाका प्राविधिकसँग समन्वय गरेर छलफल गरिरहेको पनि उनले बताए ।
फलामका जग प्रयोग गरी भारतीय एलबिएल हाउस लिफ्टिङ कम्पनीले विराटनगरका केही घर तथा कार्यालय सार्ने काम गरिरहेको छ । घर भत्काएर पुनः नयाँ बनाउँदा धेरै नै खर्च गर्नुपर्ने भएका कारण लिफ्टिङ विधि अपनाउँदा कम खर्चमै घर सार्न मिल्छ । घरको उचाई बढाउन मिल्ने र घर पनि निश्चित क्षेत्रसम्म सार्न सकिने विधिबाट घर उचाल्न र सार्नका लागि न्युनतम दुईदेखि तीन महिना लाग्ने कम्पनीले जनाएको छ । घर उठाउँदा ठूलाखाले मेसिनको प्रयोग गरिएको छैन । सामान्य फलामको जग प्रयोग गरेर घर उठाउँदा जोखिम नहुने तर्क कम्पनीको छ । कम्पनीका इन्जिनियर लालचन्द गुप्ता घर उठाउँदा वा सार्दैमा कमजोर नहुने बताउँदै भविष्यमा पनि सुरक्षित नै हुने दाबी गर्छन् । नयाँ जग निर्माण गरेर जगमाथि नै घर राखिने भएका कारण भूकम्प प्रतिरोधात्मक अनि सुरक्षित हुने दाबी गुप्ताले गरे ।
हाउस लिफ्टिङका लागि प्राविधिकले घरको बेसको टाइप बिमको संरचना काटेर गाडी उठाउन प्रयोग गर्ने जस्तो ‘जग’ लगाएर ब्यालेन्स मिलाउने गरेका छन् । घरको बेसमेन्ट वरिपरि जग लगाएपछि प्राविधिकले पालैपालो जग घुमाएर माथि उठाउँछन् र खाली भएको स्थानमा कंक्रिट र इँटाको संरचना बनाउँछन् । नेपालका विराटनगर बाहेक जनकपुर, काठमाडौं, वीरगञ्ज सहित भारतका विभिन्न सहरमा डेढ सयभन्दा बढी घर उठाउने र सार्ने काम गरेको कम्पनीले जनाएको छ ।
औद्योगिक नगरी विराटनगरको बजार क्षेत्रमा अधिकांश पुराना घर सडक सतहभन्दा तल छन् । जसले गर्दा वर्षामा आकासे पानीले निकास नपाउँदा महानगरभित्रका पुराना घरको भुइँतला डुब्ने गरेका छन् । त्यसबाहेक कतिपय घर बेला–बेलामा हुने सडक बिस्तारबाट प्रभावित बनेका पनि छन् । यस्तो परिस्थितिमा लिफ्टिङ प्रविधिबाट घर उठाउने वा सार्दा अनावश्यक झन्झटबाट मुक्त हुन सकिएला भूकम्प–हावाहुरीलगायतबाट कत्तिको सुरक्षित हुन्छ भन्ने प्रश्न चौतर्फी छ । यसबारेमा भने सम्बन्धित निकायले बेलैमा ध्यान दिई नागरिक सुरक्षातर्फपनि ध्यान दिन आवश्यक छ ।