News 24 Television
पोखरा अन्तराष्ट्रिय विमानस्थलमा छुटै–छुट, विमानस्थल चल्नेमा पोखरेली आश्वस्त 

कास्की । उद्घाटनमा भव्य तामझाम गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिलेसम्म पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेका छैनन् । 

सरकारले अन्तर्राष्ट्रिय उडानका लागि कार्ययोजना तयार गरि सार्वजनिक गरेपछि समस्त पोखरेली तथा पर्यटन व्यवसायीहरुले त्यसको भव्य स्वागत गरेका छन् । पोखरेलीहरुको झण्डै ५ दशक अघिको सपना थियो, पोखरामा एउटा अन्तर्राष्ट्रिय विमानस्थल बनोस् ।

त्यो सपना पुरा भएको पनि झण्डै २ वर्ष पुग्न लाग्यो । सन् २०२३ को जनवरी १ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरियो । तर उत्घाटनको १८ महिना बितिसक्दा पनि पोखराबाट एक दुई चार्टर बाहेक नियमित रूपमा अन्तर्राष्ट्रिय उडान भने हुन सकेको छैन । 

यही विषयलाई मध्यनजर गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरोकारवाला सबैलाई डाकी तुरुन्त विमानस्थल सञ्चालनको कार्ययोजना बनाउन निर्देशन दिएका थिए । 

लगत्तै विमानस्थल सञ्चालनको कार्ययोजनालाई मन्त्रिपरिषद्को बैठकले योजना स्वीकृत गर्यो । मन्त्रिपरिषद्को यो निर्णयसँगै सम्पूर्ण पोखरेली र गण्डकी प्रदेशको जनता विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन्छ भन्नेमा ढुक्क देखिएका छन् । यस्तैमा पर्यटन क्षेत्रमा काम गर्ने १४ ओटा संघको साझा संस्था पोखरा पर्यटन परिषद्ले आईतबार पोखरामा पत्रकार सम्मेलन गर्दै मन्त्रीपरिषद्ले गरेको निर्णयको स्वागत गरेको छ । 

सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडानका लागि विभिन्न प्याकेज घोषणा गरेको छ । जसमा ल्यान्डिङ, पार्किङ र नेभिगेसन सेवा शुल्क ५ वर्षसम्म मिनाहा गर्ने, भिसा निःशुल्क गर्ने, कार्गो र ईन्धनमा सहुलियत अनि भ्याट र अन्य करमा छुट दिने, यात्रु सेवा शुल्कमा ३ वर्षसम्म ५० प्रतिशत छुट दिने, वायुयान स्पेयर पार्ट र हवाई टिकटमा छुट मिलाइने, वायुसेवा कम्पनीलाई ईन्धनमा सबै कर छुट दिने, ग्राउण्डमा हेन्डलिङ सेवालाई लागतका आधारमा शुल्क तोक्ने, बजेट एयरलाइन्सले सातामा २० प्रतिशत र अरु ठूला एरलाइन्सले हप्तामा एउटा उडान पोखरा वा भैरहवामा गर्नुपर्ने, ह्याङ्गर सञ्चालन गर्न चाहने निजी क्षेत्र तथा लगानीकर्तालाई ट्याक्स होलिडे र अन्य छुट दिने व्यवस्था गरिएको छ । 

सरकारले यो प्याकेजको घोषणा गरेसँगै अन्तर्राष्ट्रिय विमान कम्पनीहरु उत्साहीत भएको र निकट भविष्यमा पोखराबाट उडान भर्न चाहेको परिषद् अध्यक्ष श्रेष्ठ बताउँछन् । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि सरकारको प्याकेजसँगै पोखराका पर्यटन व्यवसायीहरुले पनि विभिन्न खालका पर्यटक लक्षित छुटको प्याकेज घोषणा गर्ने तयारीमा जुटेका छन् ।

यस्तै पोखराबाट हुने आन्तरिक उडान पनि थप हुने भएको छ । पोखराबाट मान सरोवरको माउन्टेन फ्लाइट, पोखराबाट भद्रपुर, नेपालगन्ज लगाएतका ठूला शहरहरूमा नियमित उडानको तयारी गरिएको छ । यसले विमानस्थललाई थप चलायमान बनाउनेछ । तर लामो समयदेखि आश्वासनको लड्डुमा चित्त बुझाउन बाध्य पोखरेलीलाई यो पटक पनि आश्वासन मात्र त हुने होइन भन्ने चिन्ता पनि उत्तिकै छ । 

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  ०७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update