News 24 Television
शल्यक्रिया सेवापछि नगर अस्पतालमा प्रसूती गराउने बढे

सर्लाही । सर्लाहीको नगर अस्पताल लालबन्दीमा शल्यक्रिया मार्फत प्रसूति सेवा सञ्चालन भएपछि प्रसूतितर्फको बिरामीको चाप बढेको छ । अत्यधिक चाप बढ्दा शल्यक्रिया गरिएका सुत्केरीलाई राख्ने बेडको अभाव हुन थालेको छ । 

सरकारी स्वामित्वको नगर अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन भएदेखि सर्लाहीसहित छिमेकी जिल्ला सिन्धुली, महोत्तरी, रौतहट लगायतका जिल्लाबाट प्रसूतिका लागि लालबन्दी नगर अस्पतालमा ल्याउने गरिएको छ । 

सर्लाहीको नगर अस्पताल लालबन्दीमा शल्यक्रिया मार्फत प्रसूति सेवा सञ्चालन भएपछि प्रसूति गराउनेको चाप बढ्दै गएको छ । नगर अस्पताल लालबन्दीले गत फागुन २१ गतेबाट शल्यक्रियामार्फत प्रसूति गराउन सुरु गरेको हो । 

सेवा सुरु गरेदेखि अहिलेसम्म ३ सय १२ जनाको शल्यक्रियामार्फत प्रसूति गराइ सकिएको छ । नगर अस्पताल लालबन्दीमा शल्यक्रिया (सिएस) मार्फत प्रसूति सेवा सञ्चालन भएपछि प्रसूतितर्फको चाप थेग्नै समस्या भएको अस्पताल प्रशासनले जनाएको छ । अत्यधिक चाप बढ्दा अस्पतालमा शल्यक्रिया गरिएका सुत्केरीलाई राख्ने बेडको अभाव हुन थालेको छ । 
 
नगर अस्पतालमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डाक्टरबाट नै सेवा प्रवाह हुँदै आएको छ ।  सरकारी स्वामित्वको नगर अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन भएपछि सर्लाहीसहित छिमेकी जिल्ला सिन्धुली, महोत्तरी, रौतहटलगायत जिल्लाबाट पनि प्रसूति सेवा लिन आउन थालेका हुन् । 

अस्पतालमा गर्भवतीलाई प्रसव पीडा सुरु भएपछि सामान्य प्रक्रियाबाट तथा जटिल अवस्थाकालाई शल्यक्रियामार्फत पनि सेवा प्रदान गरिएको छ । 

अन्य जिल्लाबाट समेत सेवाग्राही आउँदा खुसी लागेपनि व्यवस्थापनमा भने चुनौती थपिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले प्रसूति गर्नेको चाप बढेपछि एनआईसीयु र शिशुको उपचारका लागि बालरोग विशेषज्ञको व्यवस्थापनको तयारी गरिरहेको जनाएको छ । 

हाल यस नगर अस्पतालमा एमविविएस डाक्टर पाँच जना, एमडी गरेका तीन जना र अन्य कर्मचारी गरी कुल ४४ जना कार्यरत छन् । अझै पनि प्रसूति तथा बालरोग विशेषज्ञ डाक्टर उपलब्ध गराउन नसकिएको नगरपालिकाले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  ०७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update