News 24 Television
देशका लागि काम गर्नेहरूको अपमान गर्न संगठित प्रयास भइरहेको छ : प्रधानमन्त्री ओली

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशका लागि काम गरिरहेका व्यक्तिहरुलाई अपमान गर्न संगठित प्रयास भइरहेको बताएका छन् ।

एमाले निकट खेलकुद महासंघको केन्द्रिय कमिटिको बैठकलाई ललितपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश विकासमा योगदान नै नभएका केही व्यक्तिहरुले देशका लागि काम गरिरहेका व्यक्तिहरुलाई अपमान गर्न संगठित प्रयास गरिरहेको बताएका हुन् ।

समाजलाई अनुशासित र गतिशील बनाउन खेलकुद महासंघले यस प्रकारका गतिविधिलाई चनाखो भएर हेर्न आवश्यक रहेको उनले बताए ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकार भ्रष्टाचार नियन्त्रणका लागि गठन भएको पनि बताए । भ्रष्टाचार नियन्त्रणको नाममा विगतको सरकारको जस्तो स्टन्टबाजी गरेर भ्रष्टाचार छोप्ने काम आफूले नगर्ने उनले बताए ।

सरकारको प्राथमिकता  भ्रष्टाचार नियन्त्रण गर्न खोजबिन गर्ने र कारबाही गर्ने रहेको रहेकाे भन्दै उनले भ्रष्टाचार विरुद्ध शुन्य सहनशीलताको नीतिमा अडिग रहेकाे बताए ।

प्रधानमन्त्री ओलीले सरकार कसैको बिरुद्धमा नभएको पनि बताए । कानून बिरुद्ध कसैले काम गरे सरकारले कदम चाल्ने स्पष्ट पारे । अनुशासित समाजको लागि कानून चाहिने उनकाे भनाइ छ ।

सरकारले खेल क्षेत्रलाई महत्वका साथ हेरेको बताउँदै प्रधानमन्त्रीले खेल क्षेत्रलाई आवश्यक सहयोग उपलब्ध गराउन तयार रहेकाे बताए । एक अर्को प्रसंगमा कीर्तिपुरको रंगशालामा आवश्यक पूर्वाधार तीन सय दिनभित्र निर्माण सम्पन्न गर्ने प्रतिबद्धता रहेको पनि उनले बताए । 

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update