News 24 Television
कविता : उद्घोष 

भ्रष्टाचार  गरेर देश  जसले  खोक्रो  बनाइरहे
बेची  धर्म, इमान, देश, जनता  पर्वै  मनाइरहे 
मिथ्या भाषण मात्र काम नगरी बाँच्नेहरू लास हुन् 
यस्ता शासकको भजेर महिमा बस्नेहरू दास हुन्।१

खोला,पर्वत,चोक,खोच,खहरे बेचेर खाइ सके 
जानेरै जनता अनागरिकको बिल्ला भिराइ सके 
भत्काई अरुका हजार सपना  आफ्ना पुरे आँगन 
त्यस्ता शासकलाई आज कसरी विश्वास गर्ने भन ।२

काण्डैकाण्ड मचाई देश जसले दोषी बनाइरहे
कैयौँ भूषण, छद्म, मानपदवी खोसेर थापिरहे 
यस्तै कृत्य गरेर शासन गरे यो राष्ट्र भासिन्छ नै
त्यस्ता शासकलाई चिन्न नसके यो देश नासिन्छ नै ।३

प्राणोत्सर्ग गरी मरी शहिदको स्वप्ना त्यसै मुर्झियो 
पुर्खाको बलिदानको रगतले धिक्कार्न लागिसक्यो
त्याग्नै देह तयार वीर सब छन् आए नि मर्ने दिन
आयो देश बनाउने जुट भनी उद्घोष गर्ने दिन।४ 

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १०:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update