News 24 Television
टान नेतृत्वका लागि रस्साकस्सी, पर्यटनको एजेण्डासहित मैदानमा

काठमाडौं । ट्रेकिङ व्यवसायीहरुको साझा संस्था ‘ट्रेकिङ एजेसिन्ज एसोसियसन अफ नेपाल’ (टान) को नयाँ नेतृत्वको लागि रस्साकस्सी चलिरहेको छ । आगामी भाद्र १७ गते हुने टानको निर्वाचनका लागि विभिन्न समूहले प्यानल घोषणा गरिरहेका छन् । शनिवार मात्रै राजेन्द्र सापकोटा समूहले प्यानल घोषणा गर्दै आफ्नो एजेण्डा सार्वजनिक गरेको छ । 

पदयात्रा पर्यटन व्यवसायले नेपाली पर्यटनको ६० प्रतिशत हिस्सा ओगटेको छ । यहि व्यवसाय अंगाल्दै आएका व्यवसायीहरुको साझा संसथा ट्रेकिङ्ग एजेसिन्ज एसोसियसन अफ नेपालको नयाँ नेतृत्व चयनका लागि भाद्र १७ गते निर्वाचन हुँदै छ । 

नयाँ नेतृत्व चयनका लागि ट्रेकिङ्ग व्यवसायी राजेन्द्र सापकोटा र सागर पाण्डे दुई छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचनमा जाँदैछन् । सागरले प्यानल निर्माणको तयारी गरिरहेका छन् भने राजेन्दैले शनिबार प्यानल घोषणा गर्दै आफ्नो एजेण्डाहरुसमेत सार्वजनिक गरेका छन् । 

राजेन्द्र  समूहले सार्वजनिक गरेको एजेण्डामा पदमार्गको संरक्षण र विकास, पदयात्रा व्यवसायलाई दिगो बनाउन माध्यामिक तहमै त्यसको अध्यापन गराई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नेदेखि पदयात्रा अनुमतिपत्रहरुमा लगाइएको भ्याट फिर्ता गर्न सरकारलाई दबाब दिने समेत छन् ।  

घोषणा पत्रमा टिम्स कार्डबाट भएको आम्दानीलाई पर्वतीय पर्यटन श्रमिकहरुको सामाजिक सुरक्षा, पदमार्गहरुको स्तरोन्नति र पोर्टर सेल्टर निर्माणमा खर्च गर्ने योजना समेत समावेश छ । 

टे«किङ व्यवसायमा लामो समयदेखि आवद्ध भएका, देशको सबै भुगोलको प्रतिनिधित्व हुने गरी आफुहरुले उम्मेदवार छनोट गरेको बताएका छन् । 

सापकोटाको प्यालनबाट बरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा, प्रथम उपाध्यक्ष विष्णुप्रसाद लम्साल, द्वितीय उपाध्यक्ष सनम शेर्पा, महासचिव राजेन्द्रप्रसाद सुवेदी, सचिव रिन्जी जाङबु शेर्पा, कोषाध्यक्ष गौतमराज वाग्ले र सहसचिवमा लाक्पा टेम्बा शेर्पाले उमेदवारी घोषणा गरिएको छ । 

त्यसैगरी यो समूहको सदस्यमा सागर राई, सुमन अर्याल, राजु गुरुङ, दिनेश तिमिल्सेना, विश्व दाहाल, भुवनबहादुर खड्का, दावा ग्याल्त्सेन लामा, छ्याप्ते लामा र पवित्रा तामाङको उम्मेदवारी घोषणा गरिएको छ । 

नेपाली हिम शिखर, पहाड, जंगल, राता सेता माटाले लिपेका र खरले छाएका गुचुमुच्च घुमाउने घर, हिमालका काखमा बनेका छहरा र त्यसैको कटानबाट बनेका खोच, ढकमक्क फुलेका गुराँसका जंगल र त्यहि जंगल भित्र देखिने चित्तल, घोरल, झारललाई बाघ भालुले सिकार गर्दै गरेको दृष्य, कोईलीको गितमा नाँच्दै गरेको डाँफेलाई पैदल यात्राका क्रममा हेर्न पाउँदा र क्यामेरामा कैद गर्न पाउँदा पर्यटकहरु उत्साहित हुन्छन् । तर पछिल्लो समय विकासका नाममा पदमार्ग  छोटिदाँ, जंगलमा डढेलो लगाउँदा र आधुनिकताको नाममा ग्रामिण भेगमा समेत सिमेन्टको थुप्रो ठडाउँदा पर्यटकलाई त्यसले आकर्षित गर्न सकेको छैन । 

निर्वाचनबाट निर्वाचित हुने नेतृत्वले यसतर्फ अध्ययन अनुसन्धान गरी पर्यटन विकासको दिगो गुरुयोजना निर्माण गर्न सरकारलाई घचघच्याउने  हुनुपर्छ । 

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  ०७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update