काठमाडौं । आईतवारबाट नेपालमा साफ यू–२० पुरुष फुटबल च्याम्पियनसिप शुरु हुँदैछ । नेपालसहित सहभागी ६ राष्ट्रले साफ यु–२० च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास गर्दै आफूहरू तयार रहेको बताएका छन् ।
नेपालले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पाहुना टोली श्रीलंकासँग आइतबार खेल्दै साफ यू–२० पुरुष फुटबल च्याम्पियनसिपको शुरुवात गर्दैछ । दशरथ रंगशाला खेल्नयोग्य नभएपछि आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले अन्तिम समय खेल स्थल सारेको हो ।
शनिवार भएको पत्रकार सम्मेलनमा डिफेन्डिङ च्याम्पियन भारतसहित नेपाल र बंगलादेश उपाधि जित्ने लक्ष्य रहेको उल्लेख गरे । नेपालका प्रशिक्षक उर्जन श्रेष्ठ र कप्तान कुशल देउवा पनि घरेलु समर्थकको साथमा उच्च मनोबलका साथ खेल्दै उपाधि घरमा नै सुरक्षित राख्ने बताउँछन् ।
नेपालका प्रशिक्षक श्रेष्ठले ४५ दिनदेखि तयारी गर्ने अवसर पाएको र सोहीअनुरूप प्रशिक्षण प्रभावकारी भएकाले नतिजा सुखद् ल्याउने विश्वास व्यक्त गरेका छन् ।
उनले गत संस्करण यु–१९ खेलेका ११ खेलाडी अहिले टोलीमा रहेको उल्लेख गरे । एनएसएल, लिग र ‘सी’ डिभिजन खेलिसकेका खेलाडी भएकाले अनुभवी टोली बनेको प्रशिक्षक श्रेष्ठको विश्वास छ । जहाँ प्रशिक्षण ग¥यो त्यही मैदानमा खेल हुँदा त्यसको फाइदा मिल्ने नेपाली टोलीको विश्वास छ ।
कप्तान र प्रशिक्षकहरु के भन्छन् ?
नेपाल यु–२० टोलीका कप्तान कुशल देउवाले हाल टोलीमा अधिकांश यु–१७ बाट खेलेका एउटै ब्याचका खेलाडी भएकाले टिम कम्बिनेन्स मिलेको बताए ।
साथै उनले तयारी पनि राम्रो भएकाले सुखद् नतिजा दिलाउने विश्वास व्यक्त गरे । उनले पछिल्लो सिजनका तुलना यसपल्ट आफ्नो टोलीले राम्रो एक्सपोजर पनि पाउनु सुखद् पक्ष रहेको उल्लेख गरेका छन् । समूह ‘ए’ मा आयोजक नेपालसहित बंगलादेश र श्रीलंका छन् । अर्को समूहमा साबिक विजेता भारत, माल्दिभ्स र भूटान छन् । यी टोलीमध्ये डिफेन्डिङ च्याम्पियन भारतले उपाधि रक्षा गर्ने योजना बनाएको छ ।
भारतका प्रशिक्षक रञ्जन चौधरीले आफूहरू डिफेण्डिङ च्याम्पियन रहेको र सोहीअनुरूप खेल्ने लक्ष्य रहेको बताएका छन् ।
त्यसका लागि पहिलो खेल महत्वपूर्ण र सोहीअनुरूप खेल्ने अपेक्षा गरेका छन् । उनले यसको तयारीका लागि गोवामा एक महिनादेखि प्रशिक्षण गर्नुका साथै २÷३ वटा मैत्रीपूर्ण खेल पनि खेलेको बताएका छन् ।
बंगलादेशले पछिल्लो संस्करण सन् २०२२ मा भएको च्याम्पियनसिपको फाइनल खेलेको थियो । तर उपाधि भिडन्त भारतसँग अतिरिक्त समयमार्पmत ५–२ गोलअन्तरले स्तब्ध हुँदा उपाधि बिमुख हुनु परेको थियो ।
यसपल्ट पनि फाइनल खेल्दै उपाधि लिएर जाने लक्ष्य रहेको बंगलादेशका प्रशिक्षक एकेएम मरुफुल हकको विश्वास छ ।
बंगलादेशका कप्तान मेहदी हसन स्राबुनले गत संस्करण ट्रफीसहिछ घर फर्किएकाले आफ्नो टोलीका लागि नेपाल लक्की रहेको उल्लेख गर्दै यस पटक पनि सोही सफलता दिलाउने आशा व्यक्त गरे ।
भारतको समूहमा रहेको माल्दिभ्सले पनि फाइनलमा पुग्ने लक्ष्यमा राखेको छ । त्यसका लागि आफ्नो टोली राम्रो तयारी गरेको माल्दिभ्सको विश्वास छ । माल्दिभ्सका प्रशिक्षक अहमद सकिरले आफ्नो टोलीले एक महिनादेखि तयारी गरेको र यसबीच खेलाडीले पनि धेरै मिहिनेत गरेको उल्लेख गरेका छन् ।
भूटानको टोलीमा अहिले एकेडेमीबाट मात्र खेलाडी आएका छैनन् । क्लव र विभिन्न क्याम्पबाट छनोट गरेर टोली तयार पारेको भूटानको भनाइ छ । भूटानका प्रशिक्षक हिदेहारु ताकाहासीले साफ च्याम्पियनसिप खेल्नु गौरवको रूपमा लिने उल्लेख गर्दै यसका लागि आफूहरूले राम्रो तयारी गरेको बताएका छन् ।
यो टोलीले पारो एफसीसँग पनि मैत्रीपूर्ण खेलेका थियो । १२ जना एकेडेमीबाट आएका हुन् । बाँकी क्लवबाट छन् । त्यसैले एकै पटक लामो समयसम्म प्रशिक्षण गर्न पाएनन् । तर ढेड महिनादेखि तयारीबाट राम्रो गर्ने भूटानको विश्वास छ ।
भूटानका कप्तान पेमा जाङ्पोले सहभागी हुन मात्र नआएको र उसपल्ट इतिहास बनाएर फर्किने बताएका छन् । यसपल्ट आफूलाई प्रमाणित गर्ने भूटानको लक्ष्य रहेको उनको भनाइ छ ।
श्रीलंकाका प्रशिक्षक देवासागयम राजमनीले आफ्नो टोलीले राम्रो तयारी पाएकाले प्रतिद्वन्दीका लागि राम्रो चुनौती प्रश्तुत गर्ने बताएका छन् ।
यता, नेपालले यु–२० पुरुष टोली घरेलु मैदानमा हुने साफ यु–२० च्याम्पियनसिपको उपाधि घरमा राख्ने लक्ष्य लिँदै तयारी गरेको छ । घरेलु मैदानमा हुने च्याम्पियनसिपका लागि नेपाली टोलीले गत असारको अन्तिम सातादेखि तयारी गरेको हो ।