
काठमाडौं । हरेक वर्षझै यस वर्ष पनि सिंह संक्रान्तिका दिन कीर्तिपुर नगरवासीको सुरक्षाका लागि बाघ भैरवको पूजा गरिएको छ । यस दिन विहानै बाघ भैरवको पूजा गरि साँझ जात्रा उत्सव गरिएको छ । प्राचीन समयदेखि कीर्तिपुर नगरवासीको सुरक्षाका लागि यो परम्परा रहदै आएको छ ।
कीर्तिपुरमा प्रत्येक वर्ष जस्तै यस वर्ष पनि सिंह सङ्क्रान्तिका दिन बिहान बाघ भैरवको पूजा गरिएको छ भने साँझ जात्रामा रमे कीर्तिपूरवासी । कीर्तिपुर नगरपालिका–१ स्थित बाघभैरव मन्दिर तथा त्यस आसपास क्षेत्रमा गरिने पूजा र जात्राका लागि नगरवासीको सहभागिता रहने गर्दछ ।
जात्राका अवसरमा बाघभैरवको शक्ति प्रदर्शनका लागि मूर्तिलाई खटमा राखेर चार जनाले बोकेर कीर्तिपुर नगर परिक्रमा गराइन्छ । कीर्तिपरमा परापूर्वकालमा स्थानीय गोठाला भेडाबाख्रा चराउने क्रममा माटो मुछेर बाघको एउटा मूर्ति बनाएको र त्यही मूर्तिमा भैरवले रुप धारण गरी भेडा, बाख्रा, बोका, राँगालगायतका चौपाया खाएर दुःख दिएपछि स्थानीय बासिन्दाले तान्त्रिक गुरुमार्फत बाघलार्ई शान्त पारेको प्रचलित किंवदन्ती छ ।
तान्त्रिकले भैरवको पूजाआजा गर्दा बाघको उत्पात कम भएपछि सोही स्थानमै बाघ भैरवको मन्दिर बनाइका थिए । भैरवले माटोको बाघमा रुप धारण गरेपछि स्थानीय बासिन्दाले यही कथाका आधारमा पूजा तथा भेडा, बोका र राँगा बलि दिएर बाघभैरवको जात्राको परम्परा शुरु भएको जनविश्वास छ ।
बाघभैरव स्थान नजिकमा अन्य देवदेवीको मूर्ति छन् भने मन्दिर क्षेत्रमा प्राचीन समयका भाँडाकुँडासमेत राखिएका छन् । यद्दपी, बाघभैरवको उत्पत्तिबारे पुरातात्विक प्रमाण भने फेला परेका छैनन् । त्यसैले किंवदन्तीका आधारमा जात्रा सञ्चालन गरिएको पाइन्छ ।
विसं २०१४ मा बाघभैरव खट परिक्रमा समिति स्थापना गरेर नगरका भित्री स्थानीय गाउँमा खटजात्रालाई व्यवस्थितरुपमा चलाउने परम्परा थालिएको यो जात्रा गुठी संस्थानलगायत स्थानीयको सहयोगमा निरन्तर चलिआएको छ ।
जात्राको अर्को पक्ष भनेको यस दिन मन्दिरमा १०८ पटक परिक्रमा गरेमा पारिवारिक सुख शान्ति कायम भई मनका इच्छा पूरा हुने, समृद्धि प्राप्त हुने विश्वास गरिएको स्थानीयहरु बताउँछन् ।
नेसं ३३५ मा पाटन पिम्बहालका महापात्र जगतपाल बर्माले बाघभैरव देवताको पुरानो मन्दिर भत्काएर पुनःनिर्माण गराइ तीनतले प्यागोडा शैलीमा मन्दिर बनाएको बाघभैरवको प्रत्येक १२ वर्षमा एकपटक विशेष जात्रा गरिन्छ । त्यस जात्राअन्तर्गत विभिन्न देवदेवीका नाच देखाइन्छ ।
भैरव, बाराही, गणेश, कुमारी, ब्रम्हायणी, रुद्रायणी, श्वेतभैरव, सिम्बा, धुम्बासहित १२ जना देवताको नाच प्रदर्शन गरिन्छ । कीर्तिपुर बासिन्दाका इष्टदेवताका रुपमा समेत बाघभैरवलाई मानिएको छ ।
बाघ भैरव जात्रा प्राचिन एवम् धार्मिक महत्वको भएपनि स्थानीय सरकारले यसको प्रचारसहित राष्ट्रिय रुपमा स्थापित गराउने प्रयासमा प्रभावकारिता देखाएको भने देखिदैन ।