News 24 Television
३० महिनामा सक्नेगरी गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालामा काम शूरु 

चितवन । चितवनको  रामपुरमा  दुई  वर्षदेखि  अलपत्र  परेको  गौतमबुद्ध  अन्तर्राष्ट्रिय  क्रिकेट रंगशालामा थप पूर्वाधार निर्माणका काम सुरु भइसकेको छ । संघ, प्रदेश र स्थानीय तीन वटै सरकारको वित्तीय साँझेदारीमा रंगशाला निर्माण गर्ने गरी भरतपुर महानगरपालिकाले ठेक्का सम्झौता गरेपछि निर्माण कम्पनीले काम थालेको हो । 

गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणका लागी गत महिना निर्माण कम्पनी हिमालयन कालिञ्चोक बीबीआर जेभी ललितपुरसँग भरतपुर महानगरपालिकाले सम्झौता गरेको थियो । सम्झौताअनुसार ३० महिना अर्थात २०८३ साल पुस २२ गतेसम्ममा काम सम्पन्न भइसक्नुपर्ने छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला चन्दा उठाएर निर्माण सुरु गरेको धुर्मुस सुन्तली फाउन्डेसनले आर्थिक अभाव भएको र १८ करोड ऋण लागेको भन्दै २ वर्षअघि रंगशालाको जिम्मेवारी भरतपुर महानगरपालिकालाई सुम्पँदै निर्माणको काम छाडेको थियो । ३९ प्रतिशत निर्माण सम्पन्न भएको दावी गरिएको रंगशाला फाउण्डेसनले हात झिकेपछि अलपत्र अवस्थामा थियो । अहिले तीन वटै सरकार संयुक्तरुपमा रंगशाला निर्माणमा कस्सीएपछि रंगशाला निर्माणले तीव्रता पाएको छ । 

अबको ३० महिनामा मैदान पिच गर्ने, थप प्याराफिट निर्माण गर्ने, भिआइपी टावर निर्माण गर्ने, ड्रेन ढाक्ने काम सम्पन्न हुने निर्माण कम्पनीले जनाएको छ । 

यति काम सम्पन्न भएपछि दिउँसोको समयमा क्रिकेट खेलाउन मिल्ने जनाइएको छ । रंगशालामा ५ हजार क्षमताको प्याराफिट बनिसकेको छ । अब थप १० हजार क्षमताको प्याराफिट थपेर १५ हजार दर्शक अट्ने प्याराफिट बनाइने महानगरले जनाएको छ । धुर्मुस सुन्तली फाउण्डेशनले ३० हजार क्षमताको प्याराफिट बनाउने बताएको थियो । तर यसमा रिडिजाइन गरिएको छ । 

थप पूर्वाधार निर्माणका लागि लागत अनुमान मुल्य अभिवृद्धि कर बाहेक ९६ करोड ४३ लाख ६२ हजार गरिएकोमा ६८ करोड २ लाख ६४ हजारमा बोलपत्र सम्झौता गरिएको महानगरपालिकाकाले जनाएको छ । 

प्रदेश सरकारको ५२ करोड ५० लाख र केन्द्र सरकारको २५ करोड र बाँकी रकम महानगरको आन्तरिक स्रोतबाट जुटाउने गरी वित्तीय व्यवस्थापन गरिएको महानगरपालिकाले जनाएको छ । 

धुर्मुस सुन्तली फाउण्डेसनले छोडेपनि रंगशाला बन्छ भन्नेमा स्थानीयलाई विश्वास थिएन । तर अहिले सरसफाइ सुरु भई पुनः काम थालिएपछि भने रंगशाला बन्नेमा स्थानीय विश्वस्त देखिएका छन् । 

रंगशालाको निर्माण सुरु गर्दा विभिन्न चरणमा भएको खर्चबाट १८ करोड रुपैयाँ ऋण लागेको र उक्त ऋण व्यवसायीहरुलाई तिर्न बाँकी रहेको धुर्मुस सुन्तली फाउण्डेसनले दाबी गरेको छ । 

ऋण तिरिदिन फाउण्डेसनले सरकारसँग आग्रह समेत गरेको  छ । तर यस विषयमा सरकारले कुनै चासो देखाएको छैन ।

प्रकाशित मिति: शनिबार, भदौ १, २०८१  ०६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update