कास्की । पर्यटकीय राजधानी पोखरास्थित फेवातालको बीचमा रहेको प्रसिद्ध तालबाराही मन्दिरको पुनःनिर्माणको गति सुस्त भइरहेको छ । फेवातालको सानो टापुमाथि प्यागोडा शैलीको मन्दिरले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने गथ्र्यो तर, यो मन्दिर भत्काएको २ वर्ष पुग्नै लाग्दा पनि पुनःनिर्माणको गति सुस्त छ ।
प्राकृतिकरुपमा मनोहर यो दृष्य पोखरामा रहेको फेवातालको हो । सुन्दर फेवाताल त्यसको बीचमा एउटा सानो टापु, अनि यही टापुमा रहेको छ तालबाराही मन्दिर । आन्तरिक एवम् बाहिय पर्यटकका लागि पोखराको फेवाताल र फेवातालको बीचमा रहेको तालबाहारी मन्दिर प्रमुख आकर्षणका केन्द्रहरु हुन् । तर, विगत दुई वर्षयता फेवातालको शोभा बढाउने तालबाराही मन्दिरको पूर्णस्वरुप छैन ।
पुनःनिर्माणका लागि भन्दै मन्दिर भत्काइएको पनि २ वर्ष पुग्नै लाग्यो । एक वर्षभित्रै पुनःनिर्माण सम्पन्न गर्ने लक्ष्य राखिएपनि अहिलेसम्म पुनःनिर्माणमा सुस्तता छ । ढिलासुस्तीका कारण पोखरा आउने भारतीय र नेपाली पर्यटकले पूजाआजा गर्न पाएका छैनन् भने डुंगा व्यवसायीले काम पाएका छैनन् । जसको असर समग्र पर्यटनमा परेको छ ।
२०७२ सालको भूकम्पका कारण भूइँतलासहित तीन तले मन्दिर तीन इञ्च दक्षिणतर्फ ढल्किएपछि ताल बाराही मन्दिर गुठी व्यवस्थापन समितिले पुनःनिर्माणका लागि मन्दिर भत्काएको हो । २०७९ कात्र्तिकमा मन्दिर भत्काएपनि निर्माणको काम निकै सुस्त देखिन्छ ।
अहिलेसम्म केही काठमा पुरानै शैली अनुसार कुद्ने र जग लगाउने ठाउँमा ढलान मात्रै भएको छ । काम ढिलो हुदाँ पुजा गर्न आउनेहरु मुल मन्दिरमा पुजा नगरि प्रतिमामा पुजा गरेर फर्किन बाध्य छन् भक्तजन एवम् पर्यटक । भत्काउनु नपर्ने मन्दिर भत्काइएको र भत्काइसकेपछि पुनःनिर्माणको कामलाई ढिलाई गर्न नहुने फेवा डुंगा व्यवसायी समितिका अध्यक्ष बलराम गिरी बताउँछन् ।
मन्दिर निर्माणको लागि एक करोड ४५ लाख रुपैयाँ खर्च लाग्ने समितिको अनुमान छ भने पुरानै स्वरुपमा मन्दिर पुनःनिर्माण गर्ने योजना छ ।
मन्दिर निर्माणका लागि पुरातत्व विभागबाट २५ लाख रुपैयाँ सहयोग प्राप्त हुनुको साथै प्रदेश, स्थानीय, संघ सरकार र भक्तजनको सहयोग रहने समितिले जनाएको छ । पुरानो मन्दिर भत्काएसँगै अर्को चाँदीको मूर्तिमा प्राणप्रतिष्ठा गरीनेछ । तर तालबाराही मन्दिर गुठी व्यवस्थापन समिति र पुरातत्व विभागबीचको तालमेल नमिल्दा पुनःनिर्माणको समय लम्बेतान छ ।
यता व्यवस्थापन समितिले भने निर्माणसँगै अन्य गुरु योजनाको तयारी भइरहेकाले संयुक्त काम भइरहेको जवाफ दिइरहेको छ ।
फेवातालको टापुमा रहेको तालबाराही मन्दिर पुग्नका लागि डुङ्गा चढेर जानु पर्दछ । पोखरा आउने अधिकांश पर्यटक यो मन्दिरमा पुग्ने गर्छन् । तर, मन्दिरको पुनःनिर्माणले गति नलिदा समग्र पोखराको पर्यटनमै असर परिरहेको छ । धार्मिक पर्यटनलाई चलयमान बनाउन देखिएको यो ढिलासुस्तिलाई समग्र पक्षले ध्यान दिने कि ?