News 24 Television
प्रविधिको पहुँचमा पुग्न सकेन ट्राफिक प्रहरी, सडक सुरक्षा सधैँ कमजोर  

काठमाडौं । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३ गट्ठाघरमा बिहीबार भएको भयानक दुर्घटनाले सडक सुरक्षाको सवालमा गम्भिर प्रश्न खडा गरेको छ । 

ट्राफिक प्रहरीले रुखविरुवामा छेकिएर वा आकाशे पुलमाथिबाट स्पिड चेक गर्ने र सडक छेकेर सवारी नियन्त्रणमा लिँदै आएको छ । ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनीकरण गर्न भन्दै चेकजाँचको विभिन्न शैली अपनाइरहँदा दुर्घटनाहरु झनै बढेका छन् ।

तीव्र गतिका कारण दुर्घटना बढ्ेको भन्दै ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा अटामेटिक नम्बर प्लेट रिकग्निसन सिस्टम ‘एएनपीआर’ बाट निगरानी बढाएको छ । तर, प्रायः स्थानमा ‘लिडार गन’को नै प्रयोग बढी छ । 

यता सवारी चालकहरूको ‘लिडार गन’ देख्ने बित्तिकै सातो जान्छ र सवारी अनियन्त्रित बन्छ । अझ तीव्र गतिमा आएका सवारीलाई ट्राफिक प्रहरीले दौड्दै हातको इसाराले रोकेको पाइन्छ । तीब्र गतिमा गाडी चलाउँदा दुर्घटना बढेको भन्दै ट्राफिक प्रहरीले यसो गरिरहँदा सवारीको दुर्घटनाको जोखिम झनै बढेको छ । 

प्रायः ‘ब्ल्याक स्पट’मा सवारी चेकजाँचको बोर्डसहित जाँच हुनुपर्नेमा उपत्यकामा भने ट्राफिक प्रहरीले उकालो, ओरालो, घुम्ती, हाइवेको बिच, सडकको बिचमा जहाँ जसरी पनि सवारी अचानक रोक्ने गरेका छन् । लुकेर लिडार गनबाट गति मापन गर्ने गरेको पनि सवारी चालकहरु रुष्ट छन् । ट्राफिक प्रहरीले आवेगमा चेकजाँच गर्न नहुनेमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय पनि सहमत छ । 

विश्वमा प्रविधिको उच्चतम प्रयोग भइरहँदा नेपालमा भने प्रविधिको प्रयोग न्यून छ । ट्राफिक प्रहरीले अझै पनि विभिन्न ठाउँमा हातको इसाराले सवारी व्यवस्थापन गर्नुपर्ने बाध्यता छ । 

काठमाडौं उपत्यकामा ६६ स्थानमा ट्राफिक लाइट छ । ती मध्य ५० स्थानमा लाइट बल्दैनन् । नागरिकको जिवन सुरक्षासँग जोडिएको विषयमा पनि सरकार गम्भिर भएको छैन । सडकको सुधार, सवारी साधनको चेकजाँच, जनचेतनाका कार्यक्रम, कानुनको कडाईका साथ पालना, दुर्घटनापछि तत्काल उद्धारको संयन्त्र बनाउनु पर्ने लगायतका विषयमा राज्य चुकेको छ । 

तर, सबै भन्दा महत्वपूर्ण सवारीचालक र पैदलयात्रीको अनुशासन नै हो । सडकमा ट्राफिक प्रहरी देख्ने वित्तिकै अनुशासित बन्न खोज्ने र नदेख्दा वेप्रवाह सवारी हुँईँक्याउने गरिन्छ । 

विशेषगरी दुई पाङ्गे सवारी सधानको चालकको असावधानी तथा लापरबाहीपूर्ण व्यवहार, मादक पदार्थ सेवन गरी सवारी चलाउने, लेन अनुशासन पालना नगर्ने, तीव्र गतिमा सवारी चलाउनेलगायत कारणबाट दुर्घटना बढेको तथ्यांकले देखाएको छ । नेपालमा दैनिक ५४ वटा दुर्घटनामा दैनिक ७ जनाको मृत्यु हुन्छ भने १४ जना गम्भीर घाइते हुन्छन् । यो तथ्यांक कम गर्न राज्यले प्रभावकारी कदम चाल्नुपर्नेमा कुनै सन्देह छैन । तर, हामी आम नागरिकले पनि संयम हुँदै ट्राफिक नियमको पालन गर्न जरुरी छ । 

प्रकाशित मिति: शनिबार, भदौ १, २०८१  ०६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update