काठमाडाैँ । महान्यायाधिवक्ता रमेश बडालले चेक अनादरको कसुरलाई दुनियाँवादी फौजदारी मुद्दाको रुपमा लिनुपर्ने बताएका छन् ।
शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८० माथी छलफलमा बोल्दै महान्यायाधिवक्ता बडालले यस्तो बताएका हुन् । उनले सरकारले बैंकिङ कसुर तथा सजाय ऐनमा चेक अनादरको कसुरलाई दुनियाँवादी फौजदारी वा सरकारवादी मुद्दामध्ये दुनियाँवादी फौजदारी मुद्दाको रुपमा लैजना आवश्यक रहेको बताए ।
बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८० मा चेक अनादर लगायत का म विषयमा स्पष्ट बनाउन आवश्यक रहेको उनकाे भनाइ छ । बैंकको चेक अनादरको विषय दुनियाँवादी फौजदारी मुद्दाको रुपमा छाड्ने वा अभियोगपत्रको माध्यमबाट जाने विषयमा सरकार दुनियावादी मुद्दाको रुपमा यसलाई राख्न उपयुक्त हुने पक्षमा रहेको उनले बताए ।
सर्वोच्च अदालतले गरेको व्याख्याको सन्दर्भका आधारमा पनि दुनियाँवादी फौजदारी मुद्दाका रुपमा लैजानुपर्नेमा उनले जाेड दिए । मुलुकी ऐनमा पनि कतिपय मुद्दाहरु जाहेरी लिएर जाने व्यवस्था रहेको भन्दै कतिपय व्यक्ति आफैँले फिरादपत्र लिएर जाने व्यवस्थाहरु र चेक अनादर मुद्दामा पनि अदालतको आदेश अनुसार कैद हुनसक्ने तर थुनछेक आदेशमा थुनामा बसेर मुद्दा लड्नु नपर्ने अहिलेको ऐनले व्यवस्था गर्न खाेजेको उनले बताए ।
ऐन संशोधनमा पनि व्यक्तिलाई थुनामा राखेर कारबाही गर्ने व्यवस्थालाई हटाउन खोजिएको भन्दै महान्यायाधिवक्ताले बैंकिङ कसुर सम्बन्धि काठमाडौंमा मात्रै १० हजार बढी मुद्दा रहेको बताए । त्यसलाई सहजिकरण गर्नका लागि यसलाई दुनियाँवादी मुद्दामा राख्दा सहज हुने पनि उनले बताए ।