काठमडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा सुशासनको अभाव रहेको बताएका छन् । शुक्रवार राष्ट्रिय समाचार समितिको मिडिया संग्रहालय शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन्।
नेपालीहरुले भोगिरहेको सबैभन्दा ठूलो समस्या सुशासन अभाव रहेको बताउँदै उनले सरकार नागरिकप्रति उत्तरदायी हुन नसकेको स्वीकारे । जम्मा बजेटको ३० प्रतिशत विकास बजेट छुट्याए पनि १५ प्रतिशत मात्रै खर्च हुने कुराले देश बन्न नसक्ने उनकाे भनाइ छ । सुशासनको अभावका कारण ठिक ढंगले काम गर्न नसक्दा भ्रष्टाचार बढिरहेको पनि उनले स्वीकारे ।
भ्रष्टाचार नियन्त्रण गर्ने दायित्व सरकारको भएको बताउँदै मन्त्री गुरुङले भ्रष्टाचार भइरहने, विचौलियाको बिगबिगी भइरहने, जनताको आशा र अपेक्षाप्रति उत्तरदायी हुन नसक्ने परिस्थिति अन्त्य गर्न जरुरी रहेको बताए । सत्तामा पुगेपछि कानमा तेल हाल्ने मन्त्रीहरुको आलोचना गरी उनीहरुलाई जनउत्तरदायी बनाउन सञ्चारमाध्यमले भूमिका खेल्नुपर्ने पनि उनले बताए ।
सञ्चारमन्त्री गुरुङले सरकारको विपक्षमा बस्ने काम मिडियाको नभएको पनि बताए । नराम्रो काम गरेको ठाउँमा निर्मम हुने र राम्रो कामको पक्षमा वकालत गर्नुपर्ने, सञ्चारमाध्यम सरकारको आलोचनासँगै सत्यतथ्यमा आधारित हुनुपर्ने उनले बताए । सरकारको भजन गाउनु नपर्ने भन्दै भ्रष्टाचारको ढाकछोप नगर्न आग्रह पनि गरे । प्रधानमन्त्री र मन्त्रीहरुको प्रशंसा गर्न आवश्यक नरहेको भन्दै सही काम गर्नेहरुलाई चाहिँ प्रेरित गर्न उनकाे आग्रह छ ।