News 24 Television
प्लस टु सकेर विदेश नजाऊँ, देश बनाऊँ : उपप्रधानमन्त्री

काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले युवा विद्यार्थीहरुलाई विदेश नजान आग्रह गरेका छन् । उनले समाजलाई सकारात्मक दिशामा रुपान्तरण गर्न सबै मिल्नुपर्ने समेत बताएका छन् ।

शुक्रवार ललितपुरमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले कक्षा १२ (प्लस टु) को अध्ययनपछि विदेश जाने परिपाटी चलेको बताए । उनले विदेश नजान र नेपालमै अध्ययन गरेर देश बनाउनतिर लाग्न विद्यार्थीसँग आग्रह गरे । 

नेपालमै बसेर नेपाललाई राम्रो बनाउन विद्यार्थीले पनि सोच्नुपर्ने उनको भनाइ छ । उनले नेपालमै बस्ने वातावरण बनाउन युवा जगतले उपयुक्त सुझाव दिन पनि आग्रह गरे । अधिकारका लागि लडेर ल्याएका अधिकारहरुको संरक्षणमा जुट्न पनि उनको आग्रह छ ।

‘अधिकारका लागि हामी लड्यौँ । तर अब लडेर ल्याएको अधिकार जिम्मेवारपूर्वक जगेर्ना गर्न जान्नुपर्छ । बिरोध गर्दा गर्दा प्राप्त गरेको अधिकार पनि गुम्यो भने अनि हामीले के गर्ने ? सबै जिम्मेवार हुनुपर्छ,’ उनले भने, ‘प्लस टु सकिसकेपछि विद्यार्थीहरु विदेश जाने टे«न छ । यत्रो पपुलर इन्जिनियर कलेजमा विद्यार्थी कम छन् । हामीले नेपालमै बसेर नेपाललाई राम्रो गर्न विद्यार्थीले पनि सोच्नुपर्छ । यहीँ बसेर काम गर्न के चाहिन्छ, त्यो सुझाव दिनुभयो भने सरकारले त्यसमा सहयोग गर्नेछ । जनप्रतिनिधि हुँदैमा सबैकुरा थाहा हुँदैन नि । सुझाव दिनुस् । ऐनमा संशोधन गर्न परे गरौँला । हामी सबै समाजलाई सकारात्मक दिशामा रुपान्तरण गर्न एकरुपता कायम गरी अघि बढ्नुपर्छ ।’

उपप्रधानमन्त्री सिंहले अहिलेको अवस्थाबाट देशलाई अघि बढाउन सबै एक भएर साथ दिन आग्रह गरे । उनले नागरिकको अपेक्षाअनुसार देश विकास गर्न आफूहरु प्रतिबद्ध रहेको र जनताका माग पूरा गर्नकै लागि अहिलेको सरकार बनेको दाबी समेत गरे ।

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १२:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update