News 24 Television
रुपन्देहीमा माछापालन बढ्यो, उत्पादन बढाउन प्रो–बायोटिक 

रुपन्देही । रुपन्देही मत्स्य उत्पादनको हब हो । माछा उत्पादन राम्रो भइरहे पनि यसको मृत्युदरले किसानले बेलाबखत ठूलो क्षति व्यहोरिरहेका छन् । यसैले पछिल्लो समय यहाँका मत्स्य पालक किसानहरुले माछाको मृत्युदर कम हुने र उत्पादन राम्रो भएपछि प्रो–बायोटिकको प्रयोग गर्न थालेका छन् । 

माछापालन गर्दापोखरी खन्नेदेखि विभिन्न चरणसँगै धेरै प्राविधिक र स–साना कुरामा ध्यान दिनुपर्छ । पोखरीसँगै माछाका लागि पानीको स्रोत, आहार र तराईमा अक्सिजन समेत महत्वपूर्ण मानिन्छ । कहिलेकाही सामान्य कुरामा ध्यान नदिँदा भूरादेखि हुर्किसकेका माछा मर्ने गरेका छन् । 

यस्तै क्षति रुपन्देहीका किसानले पनि बेलाबखत भोग्नु परेको छ । माछाको मृत्युदर रोक्ने पछिल्लो समय प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, रुपन्देहीले माछा सुपरजोन सञ्चालित क्षेत्रमा प्रो–बायोटिकको प्रयोग गर्न थालेको छ । यसले क्षतिलाई शून्यमा झारेको किसानहरु बताउँछन् । 

प्रो–बायोटिक एक लाभदायक जीवित सुक्ष्मजीव (ब्याक्टेरिया) हो । यसले माछापालनमा प्रयोग गर्दा माछाको स्वास्थ्य प्रवद्र्धन, वृद्धि सुधार, पानीको वातावरणीय अवस्थाहरुलाई सुधार, मृत्युदर कम गर्छ भने उत्पादन र उत्पादकत्व बढाउँछ । 

मत्स्य विज्ञहरुका अनुसार दानामा र सोझै पानीमा प्रयोग गरि दुई किसिमले प्रो–बायोटिक दिइन्छ । दानामा प्रयोग गरि दिइने प्रो–बायोटिकले माछाको आन्द्रामा रही हानीकारक सुक्ष्म जीवहरुसँग प्रतिष्पर्धा गर्दछ भने माछाको दानालाई प्रभावकारी रुपमा पचाउन पनि सहयोग गर्दछ । 

प्रो–बायोटिकले आन्द्राको स्वास्थ्य सुधार गरि माछाको वृद्धि विकास तथा बाँच्ने दरमा वृद्धि गर्न योगदान पुर्याउँछ । यसले माछाको रोग प्रतिरोधात्मक शक्ति बढाउनुको साथै पोखरीको पानीलाई पनि माछाको अनुकुल हुने गरि सफा राख्ने गर्र्छ । माछालाई रोग लगाउने ब्याक्टेरियाको वृद्धि रोकेर रासायनिक उपचारको प्रयोगलाई घटाउन पनि सहयोग गर्छ । जसले गर्दा किसानलाई प्रो–बायोटिकतर्फ आकर्षित गरिएको छ  । 

परियोजनाका अनुसार माछा सुपरजोन अन्तर्गत महिला उद्यमीबाट सञ्चालित मत्स्य फार्म ५७ वटा र यूवाहरुबाट सञ्चालित मत्स्य फर्म १ सय ५५ वटा छन् । सुपरजोन अन्तर्गत अहिले १ हजार १ सय ९ हेक्टर जलाशय रहेकोमा ८ सय ८७ हेक्टरमा माछा पालन हुँदै आएको छ । 

प्रतिहेक्टर ६ मेट्रिक टन उत्पादन औषत रहेको सुपरजोनमा गत आर्थिक वर्षमा सवा अर्ब रुपैयाँ बराबरको करिब ६ हजार मेट्रिक टन माछा उत्पादन भई विक्री भएको थियो । 

सुरुमा रुपन्देहीको सियारीस्थित छपियामा मात्र केन्द्रित रहेको माछा पालन पछिल्लो समय परियोजना लागु भएसँगै विस्तार भएको छ । अहिले जिल्लाका अधिकांश पालिकामा माछा पालना हुँदै आएको छ । 

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  ०६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update