News 24 Television
बुङको आलुका पारखी बढ्दै, कसरी फल्छ त बुङको आलु ?

ओखलढुङ्गा । ओखलढुंगाको उच्च भेगमा उत्पादन हुने बुङको आलु प्रख्यात बन्दै गएको छ । कुनै पनि रासायनिक मलबिना उत्पादन गरिने बुङको आलुको स्वाद धेरैले रुचाउन थालेपछि यसको माग पनि बढ्दै गएको छ । समुद्री सहतबाट २ हजार ५ सय मिटरभन्दा माथीको भेगमा परम्परागत रुपमा उत्पादन गरिने बुङको आलु खन्नमा व्यस्त देखिन्छन् कृषकहरु । 

उनी हुन्, सिद्धिचरण नगरपालिका ६ ठाडेका कृषक बुद्धिमान मगर । मगरको पछिल्लो तीन पुस्ताले यहि ठाउँमा बुङको आलु खेती गर्दै आएको छ । यो उनीहरुको मुख्य पेशा नै हो । बुङको आलु खेतीबाट उनले गतवर्ष झन्डै ८० हजार रुपैयाँ आम्दानी गरेका थिए भने यस वर्ष पनि त्यसैको हाराहारीमा आम्दानी हुने उनको अनुमान छ । यस वर्ष मात्रै उनले ३ मुरी आलु बेचिसकेका छन् भने १५ मुरी बिक्रीका लागि तयारी अवस्थामा छ । 

उनिजस्तै अर्की कृषक डालकुमारी मगर पनि पछिल्लो तिन दशकयता यहिँ पेशामा आबद्ध छिन । झन्डै १५ रोपनीको क्षेत्रफलमा बुङ बनाएर यस वर्ष आलु खेती गरिरहेकी उनी अहिले उत्पादन भैसकेकाले आलु खन्नमै ब्यस्त छिन । गतवर्ष जंगली जनावरले दुख दिएका कारण त्यती राम्रो उत्पादन भएन । तर यस वर्ष कम्तीमा पनि १० मुरी आलु बिक्री गर्ने उनको लक्ष्य छ ।

उनिहरु जस्तै ठाडेका अधिकांश कृषक अहिले आलु खन्नमा ब्यस्त छन् ।समुद्री सतहदेखि २५ सय मिटरभन्दा माथिको जमिनमा परम्परागत रूपमा रोपिने आलु बुङ आलुका रूपमा चर्चित छ । 

बुङको आलु ठाडेका अतिरिक्त ओखलढुंगाको विवलाटे, जन्तरखानी,  पात्ले,  भुसिंगा, खिजीफँलाटे, खिजीकाती, रगनी लगायतका क्षेत्रमा उत्पादन हुने गरेको छ । बुङमा उत्पादन गरिएको आलु प्रति पाथी १ सय ५० देखी २ सय रुपैयाँसम्मा बिक्री हुने गरेको छ भने स्वादिष्ट र अर्गानिक हुने भएकाले यसको माग पनि बढ्दो छ । 

बुङमा आलु रोप्दा कुनै पनि मलको प्रयोग गरिदैन । लेकाली माटो र खरानीले नै मलको काम गर्ने हुनाले यहाँ फलेको आलु निकै स्वादिलो हुने गर्छ । रोपेको ६ महिनाभित्र फल्ने बुङआलुको खेती बर्सेनि एउटै स्थानमा गरिँदैन । यस्तो जमिनमा एक पटक आलु खेती गरेपछि कम्तीमा ४ वर्षपछि मात्रै नयाँ खेती गर्न सकिन्छ ।जिल्लाका उच्च भेगमा हुने बुङको आलु खेतीलाई प्रर्वद्धन गर्न स्थानीय सरकारले पनि चासो दिएको छ । 

विशेष गरी उच्च भेगका कृषकको अर्थोपार्जनसँग समेत जोडिएकाले बुङको आलु उत्पादन र बजारीकरणमा सम्बन्धित निकायले प्रभावकारी योजना कार्यान्वयनमा ल्याउन आवश्यक देखिन्छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  ०६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update