News 24 Television
तरकारीमा किचलो : सरकारविरुद्ध उत्रिए कृषक–व्यापारी

कञ्चनपुर । कञ्चनपुरमा भीमदत्त नगरपालिकाले आर्थिक ऐन विपरीत कर उठाएको आरोप  लगाउदै व्यवसायी र कृषकहरुले तरकारी बजार नै बन्द गरेका छन् । कञ्चनपुरको सदरमुकाममा रहेको तरबारी बजार किसान र व्यपारीले बन्द गरेपछि कृषकको तरकारी खेतमा नै कुहिरहेको छ भने, बजारमा तरकारीको अभाव छ । 

कञ्चनपुरमा व्यवसायी र कृषकहरु आन्दोलित भएका छन् । भीमदत्त नगरपालिकाले आर्थिक ऐन विपरीत अन्तरपालिका कर उठाउने गरेको आरोप लगाउदै यसको विरोधमा उनिहरुले शान्तिपूर्ण आन्दोलन नै थालेका छन् । नगरपालिकाको कदमविरुद्ध यहाँका व्यवसायी र कृषकले तरकारी बजार बन्द गरेका छन् । भीमदत्त नगरपालिकाबाहेक जिल्लाका अन्य पालिकामा उत्पादन भएर भीमदत्त नगरपालिका–४ स्थित तरकारी बजारमा आउने तरकारीमा कर उठाउने गरेको पाइएको हो । 

नगरपालिकाको आर्थिक ऐन, २०८१ मा अन्तरपालिका कर संकलनसम्बन्धी कुनै व्यवस्था छैन । तर, पालिकाले आफ्नै आर्थिक ऐनविपरीत कृषकबाट तरकारीमा कर उठाउने गरेको छ । नगरपालिकाले आर्थिक ऐनविपरीत कर उठाउन थालेपछि व्यवसायी र कृषकले तरकारी बजार बन्द गरेका हुन् । सरकारले आफूहरुलाई कृषि पेशा गर्दा अनुदान दिएर प्रोत्साहन गर्नुको साटो कर लगाएर उल्टै मनोबल घटाएको कृषकहरुको आरोप छ । 

कृषक र व्यापारीलाई प्रभावित पार्ने गरि कर असुली गर्ने प्रवृतिविरुद्ध कडा कदम चाल्ने व्यवसायीहरु बताउछन् ।

यता, भीमदत्त नगरपालिकाले भने आर्थिक ऐनअनुसार बाहिरबाट आउने तरकारीमा सेवा शुल्क लिने व्यवस्थाबमोजिम ठेक्कामार्फत सेवा शुल्क उठाएको दाबी गरिरहेको छ । ‘तरकारीमा करको विषयमा कृषकबाट कर नउठाएको र व्यवसायी बाटमात्र सेवा शुल्क लिएको भनाई नगरपालिकाको रहेको छ ।

नेपालको संविधानमै अन्तरपालिका र प्रदेशका कुनै किसिमको कर संकलन गर्न नपाउने व्यवस्था गरेको छ । अन्तर प्रदेश व्यापार सम्बन्धमा एक प्रदेश वा स्थानीय तहबाट अर्को प्रदेश वा स्थानीय तहको क्षेत्रमा हुने तरकारीजन्य वस्तुको ढुवानी वा सेवाको विस्तारमा कुनै कर, शुल्क, दस्तुर वा महसूल लगाउन नपाउने उल्लेख भए पनि भीमदत्त नगरपालिकाले अनावश्यक कर संकलनका लागि  ३६ लाख रुपैयाँमा कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरेको छ । 
 

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  ०९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update