News 24 Television
हसिनाको आरोपमा बोल्यो अमेरिका, अनावश्यक आरोप भन्दै खण्डन 

काठमाडौं । आफ्नो सत्ता परिवर्तन हुनुमा अमेरिकी हात रहेको आरोप लगाएकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना यतिबेला भारतमा राजनीतिक शरण लिएर बसिरहेकी छन् । 

बंगलादेशबाट पलायन हुन बाध्य भएकी हसिनामाथि एकपछि अर्को आरोप लागिरहेको छ । उनीमाथि सर्वसाधारणविरुद्ध हत्याको आरोपमा अनुसन्धान सुरु भएको छ । तर हसिनाले चाँडै पूनः बंगलादेश फर्कने बताएकी छन् । यदि उनी बंगलादेश फर्किए के होला ? 

बंगलादेशमा चर्किएको विद्यार्थी आन्दोलन नियन्त्रणबाहिर पुगेपछि पदबाट राजिनामा दिएर छिमेकी मुलुक भारतमा शरण लिन पुगेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनामाथि हत्याको मुद्दामा छानबिन सुरु भएको छ । गत जुलाईमा भएको नागरिक आन्दोलनका क्रममा प्रहरीबाट भएको एक व्यक्तिको हत्याको आरोपमा अदालतमा हसिनासहित उनको तत्कालिन प्रशासनका शीर्ष ६ व्यक्तिविरुद्ध मुद्धा दायर भएको हो । 

एक व्यक्तिको हत्यामा उजुरी परेपनि विद्यार्थी आन्दोलनमा चार सय ५० भन्दा धेरैले ज्यान गुमाएका थिए ।

अमेरिका, बेलायत क्यानडा लगायतका देशहरुले हसिनाविरुद्ध आन्दोलनमा मारिएका विद्यार्थीको मृत्युको छानबिन गर्न पनि आह्वान गरेका छन् । 

हसिनाको आरोप

भारतमा रहेकी हसिनाले केही दिनअघि मात्रै आफु सत्ताच्यूतमा हुनुमा अमेरिकाजस्ता विदेशी शक्तिको हात रहेको आरोप लगाएकी थिइन् । 

उनले आफ्ना दलका समर्थहरुलाई पठाएको सन्देशमा सेन्ट मार्टिन टापुको सार्वभौमिकता अमेरिकालाई नसुम्पिएको र बंगालका खाडीमाथिको प्रभुत्व अमेरिकालाई नदिएका कारण आफु सत्ताबाट हट्नु परेको आरोप लगाएको भारतीय सञ्चारमाध्यमहरुले दाबी गरेका छन् । 

अहिले बनेको अन्तरिम सरकार विदेशी शक्तिबाट परिचालित रहेको आरोप लगाउँदै उनले विदेशी शक्तिहरुबाट परिचालित नहुन चेतावनी पनि दिएकी छन् । तर अमेरिकाले भने हसिनाको आरोप अस्वीकार गरेको छ । उसले बंगलादेशकी प्रधानमन्त्री हसिनालाई अपदस्थ गर्नमा  आफ्नो कुनै संलग्नता नरहेको प्रष्टिकरण दिएको हो ।  

हसिना फर्किए के हुन्छ ?  

यसैबीच शेख हसिनाका छोरा जोय वाजिदले आफ्नी आमा बंगलादेश फर्किने दाबी गरेका छन् । 

अन्तरिम सरकारले निर्वाचन घोषणा गरेलगत्तै आमा सहित आफुहरु बंगलादेश जाने उनको भनाइ छ । स्वदेश फर्किएपनि हसिनाले चुनाव लड्ने कि नलड्ने वाजिदको अभिव्यक्तिबाट खुलेको छैन । 

त्यस्तै हसिनाका छोरा वाजिदले आफु राजनीतिमा आउन सक्ने संकेत गरेका छन् । चुनाव घोषणा हुँदा अवामी लिगले चुनाव जित्नेमा वाजिद विश्वस्त देखिएका छन् । 

हसिनाले बंगलादेश फर्कने इच्छा व्यक्त गरेपनि उनलाई स्वदेश फर्कन सहज छैन । आन्दोलनको बलमा स्थापित अन्तरिम सरकारले नै उनलाई स्वदेश फर्कन वातावरण नबनाउन सक्छ । 

त्यस्तै विस्तारै मत्थर हुँदै आएको आन्दोलन र पूर्ववत् अवस्थामा फर्कदै गरेको बंगलादेशको माहोलमा हसिना पुन आएपछि  आगोमा घ्यू थप्ने काम पनि हुन सक्छ । 

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  ०८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update