News 24 Television
सिन्धुपाल्चोकमा बालग्राम सञ्चालन, नगर सरकार अभिभावक 

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले अभिभावकविहीन बालबालिकाहरुको अभिभावकत्व ग्रहण गरेको छ । 

नगरपालिकाले आवाससहितको बालग्राम सञ्चालन गरेर उनिहरुको संरक्षण गर्न सुरु गरेको हो । नगर भित्रका विपन्न तथा आधारभुत सुविधाबाट बञ्चित भएका २० जना बालबालिकाले अहिले वडा नम्बर ७ मेलचौर स्थित बालग्राममा निःशुल्क पढ्न, बस्न, खान र लाउन पाएका छन् । 

यि हुन् सिन्धुपाल्चोकको ठुलोसिरुवारीका आशिष पुरी । उनका बुबाको क्यान्सरका कारण मृत्यु भयो । आमाले दोस्रो विवाह गरिन् । बुबाआमाको साथ गुमाउदै आशिष वेवारिसे बने । 

आशिष जस्तै गितामाया श्रेष्ठ पनि हजुरबुबाको मृत्यु पछि विगत एक वर्ष देखि ११ वर्षकै उमेरमा घरमा एक्लै बस्दै पढिरहेकी थिइन् । 

मेलचौरको दरवार डाँडामा २ साता अघिबाट संचालनमा आएको सहिद स्मृति आवासीय बालग्राममा अहिले अभिभावक जेलमा रहेका, दोस्रो विहे गरेपछि बिचल्लीमा परेका, कुमारी आमाबाट जन्मिएका,  आर्थिक रुपले विपन्न, आमाबाबुविहीन, विद्यालय मर्जका कारण शैक्षिक सुविधाबाट बञ्चित भएका बालबालिकाहरुले स्थानीय सरकारबाट निशुल्क गाँस बास र शिक्षाको अवसर पाइरहेका  छन् । 

चौतारा साँगाचोकगढी नगरपालिकाले मापदण्ड अनुसार सम्बन्धित विद्यालय र वडा कार्यलयको सिफारिस सहित निवेदन मागको लागि सुचना जारी गरेको थियो । मापदण्ड अनुसार २४ जना बालबालिका छनौट भएकोमा २० जना सम्पर्कमा आए । 

यि बालबालिकाको रेखदेख गर्न बालग्राममा ३ जना कर्मचारी नगरपालिकाले व्यवस्थापन गरेको छ । बालग्राममा रहेका बालबालिकाहरु नजिकै रहेको श्री ज्ञान मन्दिर माध्यामिक विद्यालयमा अध्ययन गर्छन् ।

विद्यार्थी बढाउन टेवा पुगेको बताउदै विद्यालयले बालबालिका संरक्षण, उचित लालन पालन, रेखदेख, स्याहार र उनीहरूलाई गुणस्तरीय शिक्षा दिँदै अभिभावकत्वको भुमिका खेलिरहेको छ । 

कोरोना कालमा क्वारेन्टाइनका लागि प्रयोग गरिएको जस्ताको छाना भएको संरचनालाई हाल आवासीय बालग्राम बनाइएको हो । नगरपालिकाले प्राथमिकता राखेको बालग्रामको भवन निमार्णका लागि बागमती प्रदेश सरकारले ७० लाख रुपैयाँअ नुदान दिइएको छ । 

यसबाट आधारभुत आवस्यकता परीपूर्र्ति हुने गरी भवन निमार्ण हुने छ । कक्षा १२ सम्म निशुल्क शिक्षा सहित नगर सरकारको संरक्षणमा आवासीय बालग्राममा बालबालिका बस्नेछन् । 

जसको कोहि छैन त्यस्ता विपन्न तथा टुहुरा बालबालिकाको पालनपोषण र शिक्षादिक्षा दिन सुरु भएको यो प्रयासले नगरपालिकाले सरकार छ भन्ने अनुभुति दिलाएको स्थानीयको प्रतिक्रिया छ । तर जिल्लामा यसरी संरक्षणको आवश्यकता भएका कति बालबालिका समुदायमा छन् भन्ने एकीकृत तथ्याङ्क भने कतै पनि छैन । 

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  ०८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update