काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले शान्ति प्रक्रियामा हासिल गरेको सफलता दुनियाँका लागि दृष्टान्तयोग्य हुने बताएका छन् । बुधवार प्रतिनिधि सभा बैठकमा संक्रमणकालिन न्याय सम्बन्धि विधेयकबारे आफ्नो धारणा राख्दै प्रधानमन्त्री ओलीको सो दाबी गरेका हुन् ।
उनले नेपालले शान्ति प्रक्रियाको बाँकी कामलाई टुंगो लगाउनका लागि सबै राजनीतिक दलहरुको सहमतिमा कानून बनाउने काममा प्राप्त गरेको सफलता द्वन्द्व व्यवस्थापन, शान्ति स्थापना र त्यसलाई दिगो ढंगले कायम राख्न दुनियाँलाई उपयोगी हुनेमा दुविधा नराख्न पनि आग्रह गरे । केही देशहरुमा अलि सुन्दर ढंगले शान्ति प्रक्रियाको काम अघि बढे पनि त्यसलाई व्यवस्थापन गरेर अघि बढ्ने सवालमा नेपालले प्रस्तुत गरेको दृष्ष्टान्त अरुका लागि पनि अनुकरणीय हुने प्रधानमन्त्री ओलीको भनाई थियो ।
हाम्रो आफ्नै प्रयासबाट अगाडि बढेको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने काम गरिएको उल्लेख गर्दै उनले त्यो सफलता दुनियाँका लागि नमूनाको रुपमा रहने बताए । कानून बमोजिम संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउने गरी सबै दलको सहमतिमा छिटो भन्दा छिटो आयोग बनाएर अघि बढ्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।