News 24 Television
भक्तपुर अस्पतालको निरीक्षणमा पुगे संघ र प्रदेश स्वास्थ्य मन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले मंगलबार भक्तपुर स्थित भक्तपुर क्यान्सर अस्पतालको स्थलगत अनुगमन गरेका छन् । 

अनुगमननमा पुगेका स्वास्थ्य मन्त्री पौडेलले भक्तपुर अस्पतालले शुरु गरेका अनलाइन सेवा, टोकन प्रणाली, कोवाल्ट रेडियोथेरापी लगायतका सेवा थप गरेर अस्पतालले  बिरामीलाई थप सहजता प्रदान गरेको भन्दै आफुलाई खुशी लागेको बताए । 

साथै उनले अस्पतालमा देखिएको समस्या तथा विभिन्न अभावलाई चाडै समाधान गर्न तर्फ स्वास्थ्य मन्त्रालय लाग्ने समेत बताएका छन् ।  
 
मन्त्री पौडेल सँगै भक्तपुर क्यान्सर अस्पतालको अनुगमनमा पुगेका प्रदेश स्वास्थ्य मन्त्री किरण थापाले बागमती प्रदेश सरकारले यस अघि दिँदै आएको क्यान्सर रोग उपचार सहायताको ५० हजारमा थप ५० हजार गरी केन्द्र सरकारकै जति एक लाख दिने निर्णय भएको बताएका छन्  । 

त्यस्तै डा. अस्पतालका निर्देशक उज्ज्वल चालिसेले भक्तपुर अस्पतालमा रेडिएसन थेरापीका लागि दुई वटा मेसिन सञ्चालनमा ल्याइएको बताउँदै यसअघि एउटा मेसिनले दैनिक एक सयको हाराहारीमा थेरापी दिएकोमा अहिले बढेर दैनिक डेढ सय भन्दा बढि थेरापी अस्पताले थालेको समेत जानकारी गराए । यसैगरी उनले सिटिस्क्यान मेसिन पनि थपगरी दुईवटा भएको, शल्यक्रिया पनि थपगरी तीनबाट पाँचवटा बनाएको समेत जानकारी दिए । 

साथै  अस्पतालमा क्यान्सर उपचारका लागि आवश्यक परेको केही अत्यावश्यक मेसिन अस्पतलमा नभएकाले अस्पतालमा सेवा प्रवाहमा समस्या भएको समेत उनले मन्त्री पौडेल र थापालाई अस्पतालका निर्देशक चालिसेले जानकारी समेत गराए । 

आकस्मिक रुपमा भक्तपुर क्यान्सर अस्पताल पुगेका स्वास्थ्य मन्त्री पौडेल तथा प्रदेश मन्त्री थापाले मन्त्रालयको ९ बुँदे निर्देशनको कार्यान्वयन विषयमा स्थलगत अनुगनमा गएका थिए । 

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update