News 24 Television
टीआरसी विधेयक आजै पारित गर्ने तयारी

काठमाडौँ । संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयक आज संसदबाट पारित गर्ने तयारी छ । हिजै संसदमा पेश भएको बेपत्ता पत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि आज छलफल गर्ने र पारित गर्ने सम्भावित कार्यसूची छ ।

प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्ने  छ । प्रतिनिधि सभाको मंगलवारको बैठकमा कानून, न्याय तथा मानव अधिकार समिति सभापति बिमला सुवेदीले बेपत्ता पारिएका व्यक्तिको छानवीन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि समितिले दफावार छलफल गरी तयार गरेको प्रतिवेदनसहितको विधेयक संसदमा पेश गरेकी थिइन् । 

यसअघि केही बुँदाहरुमा वर्षौंदेखि रहेको असहमतीका बुँदाहरुलाई कार्यदलले टुंगोमा पु¥याइ प्रमुख तीन दलका शिर्ष नेताहरुलाई प्रतिवेदन बुझाइएको थियो । शिर्ष नेताहरुको समेत सहमति भएपछि कानुन समितिबाट पनि पारित गरी प्रतिनिधि सभामा पु¥याइएको हो । 

आज प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित दलका शीर्ष नेताहरुले यस विधेयकको सम्बन्धमा बोलेर बाँकी प्रक्रिया अगाडि बढाइने भएको छ । प्रतिनिधि सभाको आगामी बैठक साउन ३० गते दिउँसो १ बजे बस्नेगरी बोलाइएको छ ।

दलहरुकै कारण लामो समयदेखि अड्किएको विधेयक दलहरुबीच भएको सहमतीकै कारण संसदबाट पारित हुने अवस्थामा पुगेपछि शिर्ष नेताहरुले यसबारे सम्बोधन गर्ने तयारी रहेको छ । खासगरी समितिबाट पारित भएर संसदमा गएको विधेयकको सम्बन्धमा यसरी विशेष रुपमा शिर्ष नेताहरुले सम्बोधन गरेर पारित गर्ने परम्परा छैन । तर यस विधेयकलाई भने दलहरुले महत्वसाथ संसदबाट सर्वसम्मत रुपमा पारित गराउने तयारी गरेका छन् । 

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update