News 24 Television
बाजुराको बडिमालिकाको किन महत्वपूर्ण ? पृथ्वी नारायणसँग जोडियो इतिहास 

बाजुरा । बाजुराको त्रिवेणी नगरपालिकास्थित बडीमालिका सुुदुरपश्चिम प्रदेशकै मुख्य धार्मिक र पर्यटकीय स्थल हो । पृथ्वी नारायण शाहको नेपाल एकीकरण शुरु भएलगत्तै देखि बडिमालिकामा पूजाआजा सुरु भएको विश्वास गरिन्छ । यहाँ हरेक बर्ष साउने चतुदर्शीको दिन लाग्ने मेलामा मुलुकका धेरै स्थानबाट दर्शनार्थी पुग्ने गर्छन् ।  

बाजुराको बडीमालिका मन्दिर नेपालको एक चर्चित शक्ति पीठ हो । यो मन्दिर समुद्र सतहबाट ४ हजार २ सय १६ मिटर उचाइमा रहेको छ । सुदूरपश्चिमको धार्मिक तथा पर्यटकीय गन्तव्य बडिमालिकाा धार्मिक यात्रा शुरु भएको छ । जनैपूर्णिमाको अघिल्लो दिन लाग्ने मेलाका लागि टाढा–टाढाका भक्तजनहरु आउने गर्छन् । 

सदाझैँ यस वर्ष पनि भदौ २ गते चतुदर्शीको दिनमा मेला लाग्ने भएको छ । हरेक वर्षको साउन–भदौमा पर्ने बडिमालिका मेला जस्तै झरी वर्षा हुँदा पनि भक्तजन पुग्ने गरेका छन् । बडिमालिका मन्दिरमा पुगेर मागेको वरदान पुरा हुन्छ भन्ने धार्मिक विश्वसा रहेको छ । 

बडीमालिका क्षेत्रको प्रमुख आकर्षणको रुपमा २२ वटा पाटन रहेका छन् ।  मन्दिर पुग्न जिल्ला सदरमुकाम मार्तडीको दक्षिण पूर्वीबाट पैदलबाटो हुँदै करिब तीन दिन लाग्ने गर्छ । 

दर्जनौं बहुमूल्य जडिबुटीहरु र सप्तरंगी फूलहरुले ढकमक्क ढाकेका डाँडाकाँडा हेर्दै जाँदा यहाँ स्वर्गीय आनन्द प्राप्त हुने भक्तजन बताउँछन् । 

स्कन्दपुराणमा उल्लेख भएअनुसार मल्लागिरी पर्वतमा सतीदेवीको बायाँ अङ्ग पतन भएपछि मालिकादेवी उत्पन्न भएकाले धार्मिकरुपमा बडीमालिकालाई एक प्रमुख शक्तिपीठ मानिएको छ । 

बडिमालिकामा बाजुरा, अछाम, डोटी, कालीकोट र जुम्लाबाट सरकारी तहमै पूजाआजा गरिन्छ । डोटीबाट मेलाको १५ दिनअघि नै डोलजात्रा सहितको टोली, अछामको वैद्यनाथ मन्दिरबाट पाक्न लागेको धानको बाला लगेर आठ दिन अगाडि र बाजुराको टोली तीन दिन पहिले नै मालिका मन्दिर पुग्ने गर्दछन् । डोटी र जुम्लाको टोली बाइसे र चौबीसे राज्यकालभन्दा पहिला देखि नै बडिमालिकामा पूजाआजाका लागि जाने प्रचलन छ ।

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  ०७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update