काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्ष भित्र सडकमा बालबालिका रहने स्थितिको अन्त्य गर्ने बताएका छन् ।
मंगलवार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय युवा दिवसको कार्यक्रममा बोल्दै उनले बालबालिका सडकमा हुनु नहुने बताए । बालबालिकाहरु अभिभावकबिहीन भएर सडकमा अलपत्र पर्ने अवस्थाको अन्त्य गर्ने उनकाे भनाइ छ ।
बालबालिकालाई सडकमा अलपत्र भएको हेर्न नसक्ने प्रधानमन्त्रीले उनीहरुको रेखदेख, सन्तुलित आहार दिने, स्याहारसम्भार गर्ने, उन्नतिप्रगतिका लागि उचित शिक्षा, स्वास्थ्यको प्रबन्ध गर्ने र अन्य अवसर पनि उपलब्ध गराउने कर्तव्य राज्यको भएको बताए ।
‘बालबालिकाको स्याहरसम्भार, अहिले यहाँहरुले याद गर्नुभयो होला । बालबालिका सडकमा हुनु हुँदैन । खाते भएर रहनु हुँदैन भनेर पहिला पनि मैले क्याम्पेन चलाएको थिएँ । सरकारमा आउने बित्तिकै मैले पहिलो दिन नै क्याबिनेटबाट घोषणा गरेको छु, की एक वर्ष भित्र हामी सडक बालबालिकाको स्थितिलाई अन्त्य गर्नेछौँ,' उनले भने, 'हाम्रा छोराछोरी, हाम्रा बालबच्चाहरु अभिभावकबिहीन भएर सडकमा अलपत्र पर्न मिल्दैन । सरकारले त्यसको जिम्मा लिनुपर्छ । त्यसकारण सरकारले त्यसको जिम्मा लिन्छ । बालबालिकालाई सडकमा अलपत्र भएको हामी हेर्न सक्दैनौँ । त्यसकारण तिनीहरुको रेखदेख, तिनीलाई सन्तुलित आहार दिने, तिनीहरुको स्याहारसम्भार गर्ने, तिनीहरुलाई स्नेह दिने, तिनीहरुको उन्नतिप्रगतिका लागि उचित शिक्षा, स्वास्थ्यको प्रवन्ध गर्ने र अन्य अवसर पनि उपलब्ध गराउने हो । शारीरिक, मानसिक अवसरहरु उपलब्ध गराउनु पर्छ । त्यो कुरामा हामी ध्यान दिन्छौँ ।’
प्रधानमन्त्री ओलीले वर्षमा ५ लाख रोजगारी आवश्यक पर्ने बताए । युवाहरुलाई उद्यमशिलतामा विकास गर्नुपर्ने जरुरी रहेको र सरकारले गहन रुपमा सोचिरहेको बताए ।