News 24 Television
माछा खाएपछि एकै परिवारका ३ जनाको मृत्यु !

बारा । बाराको सिम्रौनगढ नगरपालिकामा एकै परिवारका तीन जना बालबालिकाको मृत्यु भएको छ । सिम्रौनगढ नगरपालिका- ७ का नरेश रामका दुई छोरी र एक छोराको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ९ वर्षीया लालिमा राम, सात वर्षीया पुष्पा राम र पाँच वर्षीय कृष्ण राम रहेका छन् । उनीहरुको मृत्युको कारण खुली नसकेको भए फुड पोइजनको आशंका गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार शनिवार राती गाउँको माछा पोखरीबाट घरमा ल्याएर पकाएको माछा र खाना खाएर सुतेका तीनै जना बालबालिका अचानक बिरामी परेका थिए ।

खाना खाएको केही समयपछि उल्टी र पखालाको समस्या देखिन थालेपछि परिवारका सदस्यले तत्कालै स्थानीय स्वास्थ्य संस्थामा लगेका थिए । स्वास्थ्यस्थिति बिग्रदै जान थालेपछि उनीहरुलाई सदरमुकाम कलैयास्थित प्रादेशिक अस्पताल हुँदै वीरगञ्जको नेशनल मेडिकल कलेजमा पु¥याइएको थियो । उपचारका क्रममा उनीहरुको आइतवार मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ९ वर्षिय ललिमा रामको आइतवार बिहान र थप दुई जनाको आइतवार राति १२.३० बजे उपचारको क्रममा मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय सिम्रौनगढकाअनुसार आफ्नै आमाले पकाएको माछा र खाना खाएर सुतेका बालबालिका अचानक बिरामी परेका थिए । घरमा पकाएको उक्त माछा परिवारका सबै सदस्यले खाएको भए पनि बालबालिका मात्रै बिरामी परेको प्रहरीको भनाई छ । प्रारम्भिकरुपमा बालबालिकालाई फुड पोइजन भएको आशंका गरेको प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update