News 24 Television
महाभारतकालीन घैलाडुब्बा मन्दिर जीर्णोद्वारमा पालिकाको चासो

झापा  । नजिकको तिर्थ हेला भने झै झापाको मेचीनगर नगरपालिकामा रहेको नन्देश्वर शिवालय (घैलाडुब्बा) मन्दिर पछिल्लो समयदेखि ओझेलमा पर्दै आएको छ । तर अब यो मन्दिरले पुनर्र्जिवन पाउने भएको छ । जिर्ण अवस्थामा पुगिसकेको मन्दिरको मर्मतसम्भार गर्दै पुनः यस क्षेत्रलाई चलायमान बनाउन स्थानीय सरकारले चासो देखाएको छ । मन्दिरलाई पुरानै लयमा ल्याउन स्थानीय सरकार, मन्दिर व्यवस्थापन र स्थानीयबासी जुटेका छन् । 

पुर्वको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको नन्देश्वर शिवालय (घैलाडुब्बा) मन्दिर स्तरोन्नतीका लागि मेचीनगरले चासो दिन थालेपछि आफुहरुमा थप उर्जा मिलेको स्थानीयबासी बताउँछन् । पर्यटनसंगै धार्मिक इतिहाससँग पनि जोडिएको यस क्षेत्र महाभारत कालमा अर्जुनले गांैचरणमा जादा तिर्खा लागि पानी पिउनका लागि धनुसले पातालबाट पानी निकालेर आफ्नो प्यास मेटाएको भन्ने किम्वदन्ती छ । किंवदन्तिमा वर्णन भएझै यहाँ अहिलेपनि बाह्रै महिना पानी निस्किरहन्छ । तर, धार्मिक पर्यटनको प्रशस्तै सम्भावना रहेको यो मन्दिर चिया बगान लिजमा लिने कम्पनीको हस्तक्षेपका कारण पनि धेरै मात्रामा ओझेलमा परेको र उचित व्यवस्थापन हुन नसकेका स्थानीय जानकारहरु बताउँछन् ।

पूर्वी नेपालको प्रसिद्ध धार्मीक र पर्यटकीय क्षेत्र रहेको यो मन्दिर रहेको स्थान यहाँ पिकनिक स्पटमा रुपमा पनि परिचित छ । कुनैसमय यस क्षेत्र पिकनिक जान चाहनेहरुका लागि इलामको कन्यामपछिको रोजाईमा पर्ने गरेको थियो । यस क्षेत्रको दर्शन गर्न तथा पिकनिकका लागि विराटनगर, धरान, ईटहरी, दमक र झापा आसपासका स्थान सहित भारतको दार्लिलिङ, सिक्किम, आसामबाट समेत मानिसहरु आउने गर्थे । तर, बिगत एक दशक अघिदेखि राज्यले अवहेलना गर्दा यस क्षेत्र ओझेलमा परेको छ । तर अब फेरि स्थानीय सरकारले तदारुकता देखाउँदै यस क्षेत्रको पूनर्निमाण गर्नेभएपछि यसले पहिलेकै हैसियत पुनःस्थापित गर्ने र पर्यटकी चहलपहल बढ्ने विश्वास गरिएको छ । 

साउन महिनाको सोमबार, महाशिवरात्री लगायतको धार्मिक पर्वमा भक्तजनहरुको बाक्लो उपस्थिती रहने गरेको छ । नगरपालिकाले अग्रसरता लिनुअघि पुरातात्विक विभागबाट नगरपालिकाकै आग्रहमा ३३ लाखको बजेटमा विनियोजन भई जीर्ण रहेको मुख्य मन्दिर बनाउने कार्य चलिरहेको हो । छिमेकी मुलुक भारतसंग छोटो दुरीमा रहेको ऐतिहासिक, धार्मिक तथा पर्यटनसंग प्रत्यक्ष जोडिएका यस्ता क्षेत्र ओझेलमा पर्दा राज्यको आम्दानीको स्रोत घट्दै गइरहेको थियो । तर अब पुनर्निमाण र जिर्णोद्वार सम्पन्न भएपछि मन्दिर पहिलेकै अवस्थामा फर्कदा यहाँ धार्मिक तथा पर्यटकीय चहलपहल बढ्दा आर्थिक गतिविधि पनि बढ्न गई स्थानीयको जीवनस्तर उकास्न मद्दत पुग्ने सम्भावना रहेको छ । 

 

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १०:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update