News 24 Television
‘सेटिङ’को भरमा चम्किँदै सेयर बजार, कतिसम्म धान्ला ?

काठमाडौँ । नयाँ गठबन्धनको सरकार निर्माण र त्यसमा पनि उपप्रधान एवम् अर्थ मन्त्रालयमा विष्णु पौडेलको पुनरागमनसँगै सेयर बजारमा हरियाली मात्रै छाएको छ । विशेषगरि पछिल्लो एक महिनामा सेयर बजार बढ्नुका साथै कारोबार रकमले पनि नयाँ कीर्तिमानी कायम गरिरहेको छ । तर, सेयर बजार सिद्धान्तले भन्दा पनि हल्लाले चलेकाले लगानीकर्ता जोखिममा छन् । अझ, सेयर बजार केही खेलाडीहरूको मुठ्ठीमा हुँदा वित्तीय अवस्था खराब भएका कम्पनीको पनि दिनदिनै सर्किट लागिरहेको छ । जसलाई स्वभाविक मानिदैन ।

सेयर बजारको भद्रगोलताको पछिल्लो उदहारण हो, प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति । प्रधानमन्त्री ओलीले केही दिन अघि मात्रै आफू निकट लगानीकर्ताहरूलाई बालुवाटारमा बोलाएर ‘बजार पहिलाको उच्चतम विन्दूभन्दा माथि पुगेपछि केक काट्छु’ भनेपछि साना÷ठूला लगानीकर्ता थप हौसिएका छन् । त्यसमा पनि उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले सेयर बजारमैत्री नीति लिन्छन् भन्नेमा लगानीकर्ता ढुक्क देखिन्छन् । किनकी, कोभिडको समयमा व्यापार, व्यवसाय पूर्ण बन्द हुँदा पनि सेयर बजार ३ हजार ६ सयले उकालो लागेको रेर्कड पनि छ ।

 नेपाली पुँजीबजारमा पछिल्ला दिनमा नयाँ–नयाँ रकर्ड बन्दै गएका छन् । आईतवारको शेयर बजार कारोबारमा २५ अर्ब २७ करोडको कारोबार भएकोमा सोमवार २७ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार भएसंगै उच्च रेकर्ड कायम भएको छ । अझ लगानीकर्ता, व्यवसायीलगायतलाई मिलाउनमा पौडेल माहिर छन् । पछिल्लो केही दिनमा मात्रै सिमित लगानीकर्ताहरूले १० खर्ब कमाएका छन् । सेयर बजारको उकालो यात्रा अस्वाभाविक रहेको भन्दै लगानीकर्ताको हालत सहकारी पीडितको जस्तै हुने भन्दै संसदमा सरकारको ध्यानाकर्षण पनि गराइएको छ । 

मनोविज्ञानले मात्रै सेयर बजारलाई निर्धारण गर्ने भएकाले बजार र सेयर बजारको कुनै साइनो छैन । लगानीकर्ताहरूको उत्साह देखिएपनि बजार चलायमान भएको छैन । काठमाडौंका मुख्य बजारहरूका सटरमा ‘टु लेट’ लेखिएको महिनै भइसकेको छ । नयाँ उद्योगमा लगानी भित्रिएको वा थपिएकोे छैन । बैंकहरूमा केही रकम भएपनि आम्दानी गर्न सकेको छैन । गठबन्धनले छाएको उत्साहले बजारलाई फेबर हुनेगरि मौद्रिक नीतिले पनि साथ दियो । 

तर, एक महिनायता बजारको उकालो ट्रेन्डले कारोबार भोलुम र नेप्से सूचक ह्वात्तै बढाएको छ । अझ, केही कम्पनीहरूको सेयर मूल्य आधारभूत वित्तीय सूचकसँग तालमेल नै नमिल्ने गरी उचालिएको छ । सेयर भोलुम थोरै भएका कम्पनीको सेयर मूल्य अस्वाभाविक रुपमा बढाउन क्लबहाउस लगायत सामाजिक सञ्जालमा विभिन्न ग्रुप सक्रिय छन् । खराब वित्तीय अवस्था भएका कम्पनीको अस्वाभाविक मूल्य वृद्धिले सेयर बजारमा भइरहेको कारोबारमाथि सार्वजनिकरुपमै प्रश्न उठिरहेको छ । जानकारहरूका अनुसार, कम्पनीको वित्तीय अवस्थामा फेरबदल नआई सेयर मूल्य दिन दिनै सर्किट लागेर बढ्नुलाई स्वाभाविक मानिँदैन । 

केही सेयरबजारका खेलाडीहरूको चलखेलको नतिजाको परिणाम हो, वित्तीय अवस्था खराब भएका कम्पनीको भाउ उकालो लाग्नु । जानकारहरूका अनुसार भोलुम कम भएको कम्पनीमा मुनाफा धेरै हुने लोभमा लगानीकर्ता झुम्मिएको भएपनि उनीहरूको सम्पत्ति भने जोखिममा छ । त्यसमा पनि राष्ट्र बैंकले संस्थागततर्फको मार्जिन प्रकृतिको सेयर धितो कर्जाको सीमा हटाएपछि पछिल्लो समय संस्थागत ग्राहकलगायत घरजग्गा, सुनलगायत सम्पत्ति धितोमा राखेर कर्जा लिन चाहेनको संख्या पनि बैंकहरूमा हवात्तै बढेको छ । यस तर्फ लगानीकर्ता आफै सजग र सर्तक हुन आवश्यक छ  । 


 

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  ०९:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update