News 24 Television
हिन्दू अधिराज्य नेपालका लागि कास्कीमा धार्मिक पदयात्रा

कास्की । श्रावण महिना अझ त्यसमा पनि सोमबारको दिन, जसलाई निकै ठूलो पर्वको रुपमा मनाउने गरिन्छ । पोखराको केदारेश्वर मन्दिरमा हजारौं दर्शनार्थी भएको मौका छोपी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले हिन्दू राष्ट्रको गुनगान मात्र गएनन् की आगामी निर्वाचनमा हिन्दू राष्ट्र स्थापना गर्ने घोषणा नै गरे । 

सोमबार बिहान पोखराका मुख्य सडकहरू अनेकौं झाँकीले सजिसजाउ थिए । कोही महादेव पार्वती बनेर नाच्दै थिए, त कोही भजन गाउँदै र पञ्चे बाजा बजाउँदै थिए । साउनको अन्तिम सोमबार भएर होला यो दिनलाई विशेष महत्वका साथ हेरिएको थियो । पोखराको महेन्द्रपुलमा जम्मा भएर हजारौं मानिसहरू नृत्य गर्दै नगर परिक्रमा गरि पोखराको बैदाममा रहेको पवित्र तीर्थस्थल केदारेश्वर मन्दिरमा पुगे ।

साउनकै अन्तिम सोमबारको मौका छोपी नेपाल सनातन धर्म संस्कृति संगठन कास्कीले वैदिक सनातन हिन्दू अधिराज्य नेपालका लागि भन्दै धार्मिक पदयात्रा पनि गर्यो । पदयात्रामा प्रमुख अतिथिका रुपमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सहभागि थिए । केदारेश्वर मन्दिर पुगेर राप्रपा अध्यक्ष लिङ्देनले हिन्दू राष्ट्रका लागि नाराबाजी नै गरे । 

नेपाल धर्म निरपेक्ष घोषणा हुनुमा विभिन्न शक्तिपीठ कै पीठाधिशहरुकै कारण हिन्दू राज्य हटेको आरोप लगाए । 

आफ्नो सम्पूर्ण अभिव्यक्ति हिन्दू राष्ट्रकै लागि खर्चिएका अध्यक्ष लिङ्देनले आगामी निर्वाचनमा कुनैपनि हालतमा हिन्दू राष्ट्र चाहने शक्तिलाई मात्र जिताई नेपाललाई हिन्दु राष्ट्र घोषणा गरेर छाड्ने ठोकुवा गरे । 

पवित्र धार्मिक स्थल भित्र यसरी राजनैतिक पार्टीका नेताले आफ्नो पार्टीको बैचारिक भाषण गरेको सायद यो नै पहिलो पटक होला । धर्म र आस्था सबैको साझा सम्पति हो, तर धार्मिक पर्वको अवसरमा मौका छोपी गरिने राजनैतिक कार्यक्रमले संदेश भने राम्रो नदिएको कतिपयको बुझाई छ । 
 

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  ०९:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update