काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा महधिवेशन समयमै हुन्छ वा हुन्न भन्ने विषयमा बहस पेचिलो भइरहेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले समयमै महाधिवेशन गराउदैनन् की भन्ने डरमा रहेको इतर पक्षले प्रश्न गरिरहेका छन् । इतर पक्षको अहिलेदेखिकै खबरदारी जारी रहँदा समेत के देउवाले तोकिएकै समयमा महाधिवेशन गर्ने सम्भावना छन् त ? अहिलेको राजनीतिक परिदृष्यले भोलिको भविष्य कस्तो देखिन्छ त ?
नेपाली कांग्रेसमा संस्थापन इतर पक्षका नेता डा. शेखर कोइरालाले पार्टी महाधिवेशन आगामी वर्षमै गर्नुपर्ने दबाब दिँदै आएका छन् । २०८२ को मंसिरमै पार्टी महाधिवेशन गर्नुपर्ने प्रस्ताव पारित केन्द्रीय समितिबाटै गरौं भन्दै शेखरले प्रस्ताव राखेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले बीचमै रोकेर समयमै महाधिवेशन हुन्छ भन्दै मिलेर काम गर्न निर्देशन दिइसकेको अवस्था छ । यसका बाबजुत पनि इतर पक्षले महाधिवेशनको सुनिश्चितता खोज्न चाहिरहेका कारण महाधिवेशन सम्बन्धि थप प्रगति के हुनेछ अहिले नै भन्न सकिने अवस्था छैन ।
महाधिवेशनको मितिमा विवाद किन ?
कांग्रेसको विधानले पार्टी महाधिवेशन ४ वर्षभित्रै गर्नुपर्ने व्यवस्था गरेको छ । विधानले सभापतिसहित सबै पदाधिकारी र सदस्यको कार्यकाल चार वर्षको हुने व्यवस्था गरेपनि संस्थापन पक्षका नेताहरुले पाँच वर्ष हुने दाबी गर्दै आएका छन् । विशेष परिस्थितिमा थप एक वर्ष लम्ब्याउन सकिने व्यवस्था पनि छ भने, पाँच वर्षसम्म महाधिवेशन हुन नसके अर्को ६ महिना लम्ब्याउन सकिने कानूनी प्रावधान संविधानमै छ ।
पार्टी महाधिवेशनका लागि केही समय लम्ब्याउन सकिने सुविधा कानूनीमा रहेपनि इतर पक्ष चार वर्षे कार्यकालभन्दा अघि देउवालाई जान नदिने पक्षमा देखिन्छ । यहि कारण महाधिवेशनको मिति तय गर्न विवाद झिकिएको विश्लेषण भइरहेका छन् । उसोतः कांग्रेसको इतिहासमै अहिलेसम्म कुनै पनि सभापतिले चार वर्षमा महाधिवेशन सम्पन्न गरेको इतिहास भने छैन् । यस्तोमा महाधिवेशनको मिति तय गर्ने विषयमा लम्बेतान विवाद चल्नुको खास तुक छैन भन्नेहरु पनि छन् । टिकाटिप्पणी जे हुन्, इतर पक्षले देउवालाई रोक्ने रणनीति अनुसार तीव्रताका साथ काम गरिरहेको भने छ ।
के गर्लान् देउवा ?
कांग्रेस सभापति शेरबहादुर देउवा बहुमतसहित पार्टी सभापति चुनिएका व्यक्ति हुन् । यसरी हेर्दा उनी बहुमतमा रहेकै कारण पनि महाधिवेशनको मिति तय कानून र संविधानको व्यवस्थालाई टेकेरै गर्ने सुरमा देखिनु स्वभाविक देखिन्छ । कसैले माग्दैमा महाधिवेशनको मिति तोक्न नसकिने भन्दै कांग्रेसमा केहि नेताहरुले ठूलो स्वर समेत गर्ने गरेका छन् । यस्तोमा देउवाको यो नै अन्तिम कार्यकाल भएकाले पनि उनले महाधिवेशनलाई संविधान कानूनले दिनेबेलासम्म तन्काउने सम्भावना बलियो छ । तर, इतर पक्षले महाधिवेशनको मिति तय नगरिए कांग्रेसले दुर्घटना व्यहोर्ने चेतावनी दिदै आएको छ ।
कांग्रेस महाधिवेशन ०८२ मै हुन नसक्ने आधार के ?
एमालेसँगको सत्ता सहकार्यमा प्रधानमन्त्री केपी ओलीको दुई वर्षे कार्यकालपछि प्रधानमन्त्री बन्ने पालो देउवाको छ । महाधिवेशन ०८२ मै गरिए देउवालाई रोक्न इतर पक्षले विभिन्न अस्त्रको प्रयोग गर्न सक्ने र देउवा प्रधानमन्त्री बन्न नपाउने स्थिति समेत बन्न सक्छ । पार्टी महाधिवेशन प्रतिनिधिहरुको विवेकको प्रयोग हुने हुनाले देउवाको पक्षमा मत आएन र उनको पक्षले महाधिवेशनमा पराजय भोग्यो भने सत्ता यात्रा दुर हुनेछ । यहि कारण पनि देउवाले ०८२ मा महाधिवेशन गर्ने गरि निर्णय गर्न सक्ने सम्भावना अत्यन्तै न्यून छ ।
विवाद र सत्ता
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री कति पटक बन्न पाउने, सभापति वा सांसद कति पटक बन्न पाउने भन्दै बैठकमा प्रस्ताव गरेका थिए । यो विषयमा विवाद नै भयो । संस्थापन पक्षले देउवालाई प्रधानमन्त्री बन्नबाट रोक्न षडयन्त्र गर्न खोज्ने भन्दै प्रतिवाद नै गरिसकेको छ । यसले पनि कांग्रेसमा सत्ता नेतृत्व लिने विषयमा विवाद सतहमा देखिनसक्छ । देउवा अब प्रधानमन्त्रीको पालो कुरिरहेका छन् । यस्तोमा गठबन्धन तोडेर प्रधानमन्त्री बन्ने अनि पार्टी महाधीवेशनको मिति तय गर्ने वा यहि गठबन्धनमा रहेर पालो कुर्ने भन्ने विषयले कांग्रेसको विवाद र सत्ता यात्रालाई बाटो देखाउनेछ । उसोतः देउवाले महाधिवेशनको मिति तय गर्नैपर्ने बाध्यतामा परे एमालेसँगको गठबन्धन तोडेरै भए पनि पहिले प्रधानमन्त्री बन्ने बाटो रोज्न सक्ने छन् ।