News 24 Television
सकियो ओलम्पिक, नेपाल रुमलिएका किस्सा !

काठमाडौं । पेरिसमा जारी ओलम्पिकको अन्तिम दिन आइतबार महिला म्याराथनमा नेपालकी सन्तोषी श्रेष्ठ ७९ औं स्थानमा रहिन् । यो नतिजासँग यस पटकको ओलम्पिकमा नेपाल सहभागि राष्ट्र मात्रै बन्न पुगेको छ । 

खेलकुदको कुम्भ ओलम्पिकमा छ दशकदेखि सहभागिता जनाउँदै आएको भएपनि प्राविधिक रूपमा बाहेक आधिकारिक ओलम्पिक पदक नेपालले ल्याउन सकेको छैन । 
    
खेलकुद मेला अर्थात ओलम्पिकको ३३ औँ संस्करणमा समेत नेपालले राम्रो नतिजा दिन सकेको छैन । फ्रान्सको राजधानी पेरिसमा भएको मेगा इभेन्टमा दुई सयभन्दा बढी देशका दश हजार पाँच सय खेलाडीले ३२ खेलमा प्रतिस्पर्धा गरेका थिए । ओलम्पिकको इतिहासमै यस पटक उद्घाटन समारोह रङ्गशाला बाहिर भएको थियो । 

ओलम्पिकमा सहभागी टोलीलाई डुङ्गा र ‘क्रुज’ मा राखेर सेन नदीमा मार्च पास गराइएको थियो । यस ओलम्पिकमा शीर्ष स्थानको वरीयता कायम गर्ने दौडमा अमेरिका र चीन रहेको छ । 
समापन समारोहलाई ‘रिकर्ड्स’ नाम दिइएको छ । समापन समारोह पारम्परिक रुपमा फ्रान्सको सबैभन्दा ठूलोे स्टेडियम स्टेड डीमा आयोजना गरिने छ । जसमा ८० हजार दर्शक सहभागी हुनेछन् । त्यसपछि ओलम्पिक झन्डा लस एन्जल्स २०२८ को आयोजन समितिलाई सुम्पिने छ ।  
    
    ओलम्पिकको ३३ औँ संस्करण र नेपाल

 - ६ खेलमा ७ खेलाडीको सहभागिता 
 -  महिला म्याराथनमा नेपालकी सन्तोषी श्रेष्ठ ७९ औं स्थानमा 
  - अहिलेसम्म नेपाल केवल सहभागि राष्ट्र मात्रैको अवस्थामा 
  -  सन् १९६४ मा पहिलो पटक ओलम्पिकमा सहभागिता 
  -   ६० वर्षमा कुल १ सय ५ खेलाडी बने ओलम्पियन 
   -  प्राविधिक रूपमा दुई नेपालीले यसअघि नै ओलम्पिक पदक जिते तर, आधिकारिक रुपमा नेपालले अझै ल्याउन सकेन पदक 
    
    खेल र खेलाडीलाई सधै गरिने उपेक्षाका कारण पनि सोचे जस्तो नतिजा प्रप्त हुन सकेको छैन । खेलमा राजनीति हाबी हुँदा खेलाडीहरू सधै ओझेलमा पर्ने गरेका छन् । ओलम्पिकमा केबल सहभागितामै रम्दै आएको नेपाल खेलको नाममा खेल पदाधिकारीको जम्बो टोली भ्रणम गराउनमा भने हरेक संस्करणमा अगाडि देखिन्छ । २०२४ को संस्करणमा पनि नेपालबाट २१ पदाधिकारी पेरिस पुगे । ओलम्पिकको बहानामा नेपाली खेल पदाधिकारीको जम्बो टोलीको भ्रमण सँधै चर्चाको विषय बन्दै आएको छ ।

हरेक ओलम्पिकमा राज्य कोषको ठूलो रकम खर्च गरेर खेल संघका पदाधिकारीलाई विदेश भ्रमणको राम्रो मौका बनेको छ । ओलिम्पकका लागि योजनाबद्ध तयारी नगरी सहभागिता जनाए मात्रै हुन्छ भन्ने सोच ओलम्पिक कमिटिमा हाबी भएको देखिन्छ । 

अझ सदस्य सचिव परिर्वतन हुने वित्तिकै नयाँ योजना बन्ने भएकाले पनि राष्ट्रिय खेलकुद परिषद् प्रयोगशालमा मात्रै सिमित भएको छ । सरकारले झण्डै एकदशकअघि भिजन ट्वान्टी–ट्वान्टी भन्दै विज्ञहरूलाई अनुसन्धान गर्न लगाएर दस्ताबेज नै तयार पार्न लगाएको थियो । तर पनि नतिजा शून्य रह्यो । अझ, ओलिम्पकमा स्र्वण पदक जित्ने खेलाडी १ करोड दिने घोषण भएको पनि एक दशक पुगेको छ । तर, खेलकुद व्यावसायिक बन्न नसक्दा खेलको दायरा फराकिलो हुन सकेको छैन । 

त्यसमा पनि खेलाडीहरूले आफ्नो भविष्यको बारेमा सोच्दै विदेश पलायन हुनुले पनि अबका कयौं ओलिम्पकमा नेपाल सहभागि राष्ट्र मात्र बन्ने देखिन्छ ।  
    

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  ०८:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update