News 24 Television
सफ्टवेयर बिग्रिदा यातायात कार्यालयको सेवा प्रभावित

रुपन्देही । यातायात व्यवस्था कार्यालय रुपन्देहीमा नयाँ सवारी साधन दर्ता र राजश्व संकलनको काम अहिले ठप्प छ । 

गत बैशाख महिनादेखि कार्यालयले अनलाइन सवारी साधन दर्ता प्रणाली लागु गरेर नयाँ सवारी साधन दर्ता सुरु गरेको थियो । तर सफ्टवेयरमा समस्या देखिएपछि साउन महिनादेखि नयाँ सवारी दर्ता र राजश्व संकलनको काम प्रभावित भएको हो । 

सवारी साधनको दर्ता र राजश्व संकलनलाई ब्यवस्थित गर्नको लागि भन्दै यातायात व्यवस्था कार्यालय रुपन्देहीले गत बैशाख २ गतेदेखि अनलाइन सवारी साधन दर्ता प्रणाली  लागु गर्याे । 

यो प्राणाली लागु भएपछि सवारी साधनको रेकर्ड राख्न सजिलो हुने, छिटो र छरितो सेवा दिने कार्यालयको अपेक्षा थियो  । तर यो प्रणाली लागु भएपछि बैशाख महिना यतादेखि नै यातायात ब्यवस्था कार्यालय रुपन्देहीमा सवारी साधन दर्ता र सवारी कर संकलनमा समस्या देखिएको छ ।

नयाँ आर्थिक वर्ष सुरु भएपछि  कार्यालयमा नयाँ सवारी दर्ता, नामसारी र कर संकलनको काम प्रभावित भएको छ । सूचना नै निकालेर कार्यालयले अहिले काम नै रोकेको छ । 

यातायात ब्यवस्था कार्यालय रुपन्देहीले नयाँ सवारी दर्ता र कर संकलन गर्न नसक्दा सेवाग्राहीहरु समस्यामा परेका छन् । रुपन्देहीमा सवारी साधन दर्ता नभएपछि सवारी साधनका कम्पन्नीहरुले पनि अन्य प्रदेशमा गएर सवारी दर्ता गराउन थालेका छन् ।

यातायात ब्यवस्था कार्यालय सवारी रुपन्देहीमा आर्थिक वर्ष २०८०–८१ मा ४२ हजार ७ सय ६७ साना ठुला सवारी साधन दर्ता भएका थिए । यातायात व्यवस्था कार्यालय रुपन्देहीले यो समस्या विभागमा जानकारी गराए पनि अहिलेसम्म समस्याको सामाधान हुन सकेको छैन । 

सफ्टवेयरको कारण नयाँ सवारी साधन दर्ता र कर संकलन प्रभावित हुँदा लुम्बिनी प्रदेशको राजश्व संकलनमा समेत कमी आउने देखिएको छ । 

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  ०८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update