News 24 Television
सरकारविरुद्ध सुरुङ खन्दै ‘गगन–विश्व’, धरापमा ओली ! 

काठमाडौं ।    नेपाली काँग्रेस र नेकपा एमालेको प्रमुख योजनामा गठित वर्तमान सरकारको मुख्य जग नै ७ बुँदे समझदारी हो । 

काँग्रेस–एमालेले गत असारमा सरकार गठन गर्नुअघि नै संविधान संशोधनसहित विभिन्न ७ बुँदे समझदारी गरेका थिए । दुई दलबीचको लिखित समझदारी र सहमतिका बुँदाहरु कुनै हालतमा कार्यान्वयन हुने दावी गरिँदै आएको छ । तर नेपाली काँग्रेसका दोस्रो तहका नेताहरुले भने प्रधानमन्त्री केपी शर्मा ओलीलाई जतिसक्दो च्याप्ने रणनीति लिएका छन् ।

खासगरी काँग्रेसका दुई महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कडाइका साथ मार्ग निर्देश गर्ने रणनीति बुनेको देखिन्छ । सरकारमाथिको खबरदारीमा कुनै कसुर नराख्ने नीति लिएका गगन–विश्व प्रधानमन्त्री ओलीलाई कुनै पनि गल्तिमा छुट नदिने बताउँदै आएका छन् । 

नयाँ गठबन्धन बन्नुको प्रमुख कारण विभिन्न भ्रष्टाचारको प्रकरणबाट उन्मुक्तिको उपाय भन्ने गरिन्छ । काँग्रेस एमालेको मिलन गिरीबन्धु जग्गा प्रकरण र नक्कली भूटानी शरणार्थी प्रकरण नै भएको जनस्तरबाट चर्चा हुने गरेको छ । जनताका यही मनोविज्ञानलाई बुझेर मझधारको विचार निर्माण गरेको काँग्रेसको यो पक्षले प्रधानमन्त्री ओलीमाथि प्रश्न उठेका प्रकरणमा पनि चुप नबस्ने उद्घोष गर्दै आएको छ ।

  वर्तमान सरकार गठनको जग नै  शंकास्पद हुँदा काँग्रेस र एमाले नेतृत्वमाथि प्रश्नै प्रश्न छन् । यो विषयलाई लिएर एमालेभित्र कुनैपनि नेताहरुले प्रश्न उठाउन सकेका छैनन् । तर काँग्रेसका दोस्रो तहका नेताहरुले भने ओली र देउवामाथि नै खरो चेतावनी दिने गरेका छन् । 

यही कारण पनि संविधान संशोधनका विषयमा समझदारी गरेका काँग्रेस एमालेलाई सम्झौता कार्यान्वयन गर्न चुनौति बनिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीकै मुख्य पहलमा समानुपातिक, समावेशीता र थ्रेसहोल्डको सीमा बढाउने एजेण्डा अघि बढाइएको थियो । 

यही अनुसार दुई दलबीच संविधान संशोधन गर्ने तयारी छ । तर यसमा काँग्रेसबाटै सरकारको नेतृत्व गरिरहेका उपप्रधानमन्त्री प्रकाशमान सिंहले ओलीमाथि थ्रेट सिर्जना गरिदिएका छन् । 

जनस्तरबाट वर्तमान सरकारको कार्यशैलीमा पनि एक मात्रै होइन कयौँ प्रश्न उठ्ने गरेका छन् । राजदूत नियुक्तिमा मनोमानी, मन्त्रिमणडल गठन समावेशी नभएको तथा भ्रष्टाचार आरोपीलाई नै मन्त्री बनाएर पुरस्कृत गरेको भन्दै ओलीमाथि चौतर्फ प्रश्न उठिरहेको छ । तर यसमा प्रधानमन्त्री ओलीले बारम्बार आफू भ्रष्ट नभएको र भ्रष्टाचार गर्न पनि नदिने भन्दै वयान दिने गरेका छन् । 

प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक सम्बोधन गर्दा नै संदमा विद्युत प्राधिकरणको विवादको विषयमा बोल्दै ओलीले आफूले कहिल्यै भ्रष्टाचार नगरेको र भविष्यमा पनि नगर्ने दावी गरेका थिए । त्यसयता पनि उनी बारम्बार भ्रष्टाचारको विषयमा प्रष्टिकरण दिइरहेका हुन्छन् । तर पनि गिरीबन्धु प्रकरण लगायतका दर्जन बढी काण्डामा ओलीमाथि भ्रष्टाचारको प्रश्न उठ्ने गरेको छ । 

नयाँ गठबनधनको जग र समझदारी हेर्दा पनि काँग्रेस एमाले नेतृत्वमाथि प्रश्न गर्ने  ठाउँ प्रशस्त छन् । यही अवस्थामा काँग्रेसकै ‘गगन–विश्व’ पक्षले सरकार भित्रै प्रतिपक्षको भूमिका खेलिरहेका छन् । जसले प्रधानमन्त्री ओली र काँग्रेस नेतृत्वलाई नै सजग हुन बाध्य तुल्याइरहेको छ । 

सत्तामै रहेर तीव्र खबरदारी गरिरहेको काँग्रेसभित्रकै यो समूहले सरकारलाई स्वेच्छाचारी हुनबाट जोगाउन मात्रै नभइ नेतृत्वलाई नै दण्डा चलाउनेसम्मको चेतावनी दिँदै आइरहेको छ । वर्तमान सत्ताको निर्धारक दल काँग्रेसकै नेताहरुले सरकारविरुद्ध यस्तो रणनीति बुन्दा ‘गगन–विश्व’ ओलीकै थ्रेट बनेर उभिइरेका छन् । 

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  ०७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update