News 24 Television
संघ र प्रदेश सरकारले शिक्षा नीति संशोधन गर्नुपर्छ  : नगरप्रमुख बुढाथोकी

झापा । मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले नगरको शिक्षा क्षेत्रमा देखिएको समस्या सुधार्नका लागि संघीय र प्रदेश सरकारले शिक्षा नीति संशोधन गर्नुपर्ने औंल्याएका छन् ।

धुलाबारी क्याम्पसको २३औँ साधारणसभामा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नगरप्रमुख बुढाथोकीले शिक्षा नीति र कानुनी  ब्यवस्थापन संशोधन गरेर मात्रै स्थानीय सरकारले त्यसको जवाफदेही बन्ने बताएका हुन् ।

उनले बिद्यालयको गुणस्तर र भौतिक पुर्वधार ब्यवस्थापनमा सुधार ल्याउन संघीय सरकारले कानुनलाई संशोधन गर्नुपर्ने बताए । उपल्लो तहले ब्यवस्थापन नगर्दा पनि मेचीनगरले नगरमा संचालनमा रहेका ४२ वटामध्ये १६ वटा बिद्यालयको टिनको छानो फेरिदिएको बताए । 

२२ वटा बिद्यालयको छानो चुहिने भएकै कारण मौसम प्रतिकुल हुँदा विद्यार्थीहरु रुखको फेदमा र शिक्षक हलमा पुग्ने गरेको भन्दै नगर प्रमुख बुढाथोकीले भने, ‘त्यस्ता बिद्यालयको पुर्वाधार सुधारका लागि थालनी गरेको छ ।’

उनले नगरपालिकाभित्र संचालन हुँदैआएका मध्ये केही बिद्यालय मर्ज गर्नुपर्ने अवस्था देखिएको समेत बताए । सिङ्गो देशको अवस्थासंगै प्लस टुमा अध्ययनरत बिद्यार्थी पलायनले क्याम्पस तहमा ठूलो समस्या देखिएको औंल्याए । क्याम्पसमा एड्मिशन हुँदा एउटा सङ्ख्यामा अध्ययनरत बिद्यार्थीमध्ये आधाले मात्रै एक्जाम दिने गरेकाले जटिल समस्या आएको नगरप्रमुख बुढाथोकीको भनाई थियो ।

उनले नगरको गहनाको रुपमा रहेको धुलाबारी क्याम्पसलाई नगरले पुर्वाधार विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

धुलाबारी क्याम्पस ब्यवस्थापन समितिको अध्यक्षमा पुनः भीम खवास,

मेचीनगर–१० मा सञ्चालित धुलाबारी क्याम्पस ब्यवस्थापन समितिको अध्यक्षमा भीम खवास पुनः सर्वसम्मत चयन भएका छन् ।

शनिबार क्याम्पसको बार्षिक साधारण सभाले खवासलाई पुनस्एक कार्यकालको नेतृत्व प्रदान गर्दै अन्य समितिका सदस्य हेरफेर गरेको छ ।

 समितिको उपाध्यक्षमा पुनित बंशल, सदस्यहरूमा वीपी भट्टराई, कृष्ण कौशल सिटौला, सुष्मा कार्की डोली, नमिता बुढाथोकी, शुशिला रिजाल र सदस्य सचिवमा क्याम्पस प्रमुख पुष्पराज पौडेल सर्वसम्मत चयन भएका छन्।

समितिमा मेचीनगर नगरपालिका प्रमुख वा प्रतिनिधिका एक जना, कार्यक्रम संयोजक एक जना र पुर्वाञ्चल युनिभर्सिटीका प्रतिनिधि एक जना रहनेछन् । 

नवनिर्मित कार्यसमितिको कार्यकाल ३ वर्षे रहने निर्वाचन समिति संयोजक अधिवक्ता अजय घिमिरेले जानकारी दिए। कार्यक्रममा प्रमुख अतिथि मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी, क्याम्पसका संस्थापक उपाध्यक्ष राम कट्टेल, मेचनगर– १५ का वडाध्यक्ष गुणराज भट्टराई , तत्कालीन क्याम्पस भवन निर्माण समितिका सचिव पुनित बंशल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

खवासकै अध्यक्षता र स्वागतमा सम्पन्न कार्यक्रमको सञ्चालन क्याम्पस प्रमुख पुष्पराज पौडेलले गरेका थिए ।

प्राविधिक शिक्षालयको हब बनाउने योजना

धुलाबारी क्याम्पस प्राविधिक शिक्षालयलको क्षेत्रको आर्किटेक्चर कोर्षमा स्नातकोत्तर तह अध्ययन–अध्ययापन गराउने देशको दोस्रो र कोशी प्रदेशको पहिलो क्याम्पस हो ।

अरु संकायका पठनपाठन गर्दा संचालनमा समस्या उत्पन्न भएपछि पुर्वलाई प्राविधिक शिक्षालयको हव बनाउने उद्देश्यले प्राबिधिक शिक्षा पठनपाठन सुरु गरिएको हो ।

२०४८ साल असोज २८ मा स्थापना भएको धुलाबारी क्याम्पसमा मेची नगरपालिका, प्रदेश र संघीय सरकारको सहयोगबाट मेचीनगार पोलिटेक्निकल इन्स्टिच्युट र धुलाबारी क्याम्पस दुबैलाई आवश्यक प्रयोगशाला बनाइएको छ । 

हाल सिभिल इन्जिनियर, ओभरसियर,आर्किटेक्चर, आइटी लगायतका प्राबिधिक कोर्षका पठनपाठन हुँदै आएको क्याम्पस प्रमुख पुष्पराज पौडेलको भनाइ छ  ।

आगमी दिनका ब्याच्लर सूचना प्रबिधि बिइ, आइटी सिभिल इन्जिनियरमै स्नातकोत्तर तहको पठनपाठन गर्ने योजना छ ।

युवाहरुलाई विदेश जानबाट रोक्न र आफ्नै देश र क्षेत्रमा प्राविधिक विषयमा दक्ष बनाई रोजगारी दिलाउन प्राबिधिक शिक्षालाई प्राथमिकता दिएको इन्स्टिच्युटका प्रिन्सिपल रुद्र मैनालीले बताए ।

आगामी दिनमाञधुलाबारी प्राबिधिक क्याम्पसको रुपमा उद्घाटन गर्ने योजना बनाएको छ । क्याम्पसमा हाल डिप्लोमा सम्मको सिभिल इन्जिनियरिङ कक्षा सञ्चालन भइरहेको छ । लाईबेरीलाई इलाईबेरी संचालनमा ल्याइने, क्याम्पस परिसरमा जग्गादाता र चन्दादाताहरूको नामावली भएको शिलालेख समेटिएको स्तम्भ राखिने बताइएको छ ।

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update