News 24 Television
भारतको असहयोग, चीनकै बेवास्ता : नेपाललाई दोहोरो घाटा

काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल (पीआईए) बनाउँदासम्म र उद्घाटन गर्दा जुन उत्साह थियो, त्यो हाल निराशामा परिणत भएको छ । चिनियाँ बैंकको ऋणमा बनाइएको उक्त विमानस्थल २०७९ पुसमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा उद्घाटन गरिएको थियो । तर बिजनेस योजनाबिना नै निर्माण गरिएको विमानस्थलले बिजनेस नपाउँदा नेपाललाई वार्षिक डेढ अर्बजति घाटा परिरहेको बताइन्छ । उद्घाटनपछि केही चार्टर उडानबाहेक नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । आन्तरिक उडानबाहेक कुनै पनि अन्तर्राष्ट्रिय उडान नहुँदा विमानस्थलको आम्दानी पनि सुकेको छ भने बर्सेनी चिनियाँ ऋणको ब्याजभार बढ्दै गएको छ ।

भारतको अहसयोगका कारण पनि पोखरा विमानस्थलले बिजनेस पाउन सकेको छैन । चिनियाँ ऋण लगानीका योजना भारतले नेपालमा मात्र हैन अन्य देशमा पनि बहिस्कार गर्ने गरेको छ ।  सोही कारण भातरले पोखरा उडानलाई अनुमति दिन मानेको छैन । तत्कालीन पर्यटनमन्त्री सुदन किरातीले विमानस्थल उद्घाटनपछि पोखराबाटै भारतका पटना, चण्डीगढ, गोरखपुर, सिलगुढीलगायत सहरमा सीधा उडान भर्न सकिने बताएका थिए । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रुपमा भारत लगायत छिमेकी मुलुकमा सीधा क्षेत्रीय अन्तर्राष्ट्रिय उडानका लागि पोखरा विमानस्थल बनाइएको थियो । तर योजनाअनुसार यसले बिजनेस नपाउँदा घाटा व्यहोरिरहेको हो । चीनले पनि केही चार्टर उडानबाहेक नियमित उडानमा त्यति चासो राखेको देखिन्न । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पोखरा विमानस्थल कुनै पनि व्यापारिक योजना तथा बिजनेस योजनाबिना नै बनाएकोले अहिले घाटामा रहेको बताएका छन् । बिहीवार संघीय संसदको लेखा समितिअन्तर्गत सांसद राजेन्द्र लिङदेनको अध्यक्षतामा गठित उपसमितिको बैठकमा बोल्दै अधिकारीले चिनियाँ चिनियाँ एक्जिम बैंकको ऋण लागत बढेर अहिले ३० अर्ब पुगिसकेको बताए । प्राधिकरणले तत्कालीन समयमा एकिजम बैंकसँग ऋण लिँदा जम्मा १५ अर्ब लाग्ने भनिएको आयोजना सम्झौता गर्दासम्म नै २२ अर्ब रुपैयाँ पुगेको उनको भनाइ छ । अहिले उक्त विमानस्थलको लागत बढेर ३० अर्ब रुपैयाँ नाघिसकेको अधिकारीले बताए । उनका अनुसार पोखरा विमानस्थल बनाउँदा लिएको ऋणको ब्याज मात्रै ५ अर्ब रुपैयाँ थपिएको छ । 

महानिर्देशक अधिकारीले पोखरा विमानस्थलको उडान–अवतरण रुटका लागि रिठ्ठेपानी डाँडाको माटो कटानबारे पनि समितिमा खुलासा गरेका छन् । डाँडा कटानको विषयमा कुनै सम्झौता नगरी प्राधिकरणले माटो कटान गरेको उनको भनाइ छ । माटो कटान १५ प्रतिशत ओभर हेडमा काटिएको भन्दै उनले कन्सल्टेन्सीलाई २५ प्रतिशत दिएको भए ४२ करोड लागत पुग्ने अवस्था रहेको बताए । प्राधिकरणले सार्वजनिक खरिद ऐनअनुसार कटान गर्दा वित्तीय हिसाबले सस्तो भएको उनको भनाइ छ ।

सन् २०१७ देखि निर्माण थालनी गरेर पाँच वर्षपछि सम्पन्न भएको विमानस्थलको लागत सुरु अनुमानित (१५ अर्ब)भन्दा करिब दोब्बर (३० अर्ब) भइसकको देखिन्छ । करिब ३७ सय रोपनी क्षेत्रफलमा रहेको विमानस्थल चिनियाँ सीएएमसी कम्पनीले नै ठेक्कामा निर्माण गरेको हो । तत्कालीन प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका बेला नेपाल र चीन सरकारबीच करिब २२ अर्ब रूपैयाँ लागतमा २५०० मिटरको रन वे, दश हजार वर्गमिटरको अन्तर्राष्ट्रिय टर्मिनलसहितको विमानस्थल निर्माण सम्झौता भएको थियो । 

एक्जिम बैंकले पोखरा विमानस्थलमा एअरबस ३२० र बोइङ ७५७ लगायत जेट विमानहरुको उडान र अवतरण गर्न सकिने जनाएको थियो । प्राविधिक दृष्टिले सक्षम, प्राकृतिक हिसाबले मनोरम स्थलमा रहेको विमानस्थलबाट चीनका चेङ्दु, कुन्मिङ, ग्वाङ्जाओ र अन्य सहरमा उडान हुने बताइएको थियो । नेपाल र चीनले विकास गरेको ‘हिमालय वारपार बहुउद्देश्यीय सम्पर्क सञ्जाल’को महत्त्वपूर्ण पूर्वाधारका रुपमा प्रचार गरिए पनि हाल यो विमानस्थलमा उडानका लागि चीन नै तत्पर देखिँदैन । भारतले त बहिस्कार नै गरिसकेको छ । 

प्रतिवर्ष एक लाख यात्रुहरूलाई सेवा दिने अपेक्षा गरिएको विमानस्थल निर्माण सम्पन्न भएको डेढ वर्ष बित्दासमेत सुनसान देखिन्छ । यसरी पोखरा विमानस्थल चिनियाँ ऋणको पासोमा फसेको छ । ऋणको ब्याज बढ्दै जानु र विमानस्थल सञ्चालन नहुँदा वार्षिक डेढ अर्ब घाटा बेहोर्नुपर्ने अवस्थाले दोहोरो घाटामा विमानस्थल रहेको देखिन्छ । आफ्नै आम्दानी नहुँदा यसले चिनियाँ कसरी तिर्छ अब ?

 

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  ०९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update