काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा पार्टीमा आफ्नो स्थान प्रष्ट बनाउने बाटो अवलम्बन गर्ने सुर कसिरहेका छन् ।
सत्ता गठबन्धनमा रहेर पनि निरन्तर एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको प्रतिरोध गर्दै विश्वप्रकाशले आफूलाई फरक देखाउन खोजिरहेका छन् ।
नेपाली कांग्रेसमा अब शेरबहादुर देउवा पार्टी सभापतिका लागि विकल्प खोजिरहेका छन् । उनको उत्तराधिकारी को बन्ने टुंगो लाग्न सकेको देखिन्न् । पूर्वगृहमन्त्री समेत रहेका नेता बालकृष्ण खाणमाथि गम्भीर आरोप र त्यसपछि कारागार पुगेको घटनाले पनि उनको ड्यामेज कन्ट्रोल कठिन छ भने, उपसभापति पूर्णबहादुर खड्का पनि टाढिएको बताइन्छ ।
यता, डा. प्रकाशशरण महत पनि पार्टी नेतृत्वका लागि सक्षम बनिनसकेको देउवाको बुझाई छ । यस्तोमा संस्थापन इतर पक्षले भावी नेतृत्वका लागि अहिलेदेखि नै फरक पहिचान बनाउने काम थाल्न खोजेको देखिन्छ । यस्तोमा विश्वप्रकाश शर्माले फरक धार समात्दै स्थापित हुन खोजिरहेका छन् ।
विश्वप्रकाशले चालेका कदम के ?
गठबन्धनमै ओली र एमालेप्रति आक्रामक
सत्ता गठबन्धनमा कांग्रेस–एमालेको सहकार्यपछि एकले अर्कोलाई आरोप लगाउने काम लगभग बन्द जस्तो देखिन्छ । गिरीबन्धु टि स्टेट र नक्कली भुटानी शरणार्थी जस्ता प्रकरणमा आमनेसामने बनेका उनीहरु सत्ता सहकार्यसँगै विरोध कम प्यार ज्यादा गर्न थालिसकेका छन्, यस्तोमा विश्वप्रकाशले निरन्तर रुपमा फरक मत राखिराखेका छन् । सरकारको भविष्य गतिविधि, काम र संयममा निर्भर हुने भन्दै कसैलाई अप्ठ्यारो पर्ला भनेर नहुने तर्क राखिराखेका छन् ।
उसोतः विश्वप्रकाश शर्माले पहिले पनि गिरीबन्धुदेखि अनेक प्रकरणमा आफ्नो मत नबदलिने र यसबारे निरन्तर खबरदारी गर्नबाट पछि हट्न नसकिने दाबी गर्दै आएका छन् । सत्ता सहकार्यपछि दुई दलका शीर्ष नेताहरुबीच विवाद नहोला भन्ने गरि गरिएको अपेक्षामा विश्वप्रकाशबाहेकले भने विरोध गर्ने गरेको देखिन्न ।
पार्टीमा फरक र नयाँ मत
कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा महामन्त्री विश्वप्रकाशले राखेको प्रस्तावले विवाद नै सिर्जना गरिदियो । प्रधानमन्त्री दुई कार्यकाल भन्दा बढि बन्न नपाउने गरि अघि बढौं भन्ने प्रस्ताव राखेका विश्वप्रकाशविरुद्ध देउवा पत्नी आरजु राणा देउवा र डा. प्रकाशशरण महतले कडा शब्दमा विरोध गरिदिए ।
उनीहरुले संविधानले नै कति पटक प्रधानमन्त्री बन्ने भनेर व्यवस्था नगरेको खण्डमा पार्टीमा यस्तो प्रस्तावको अर्थ नहुने मात्रै भनेनन्, महतले त देउवालाई प्रधानमन्त्री बन्नबाट रोक्नका लागि षडयन्त्र गर्न खोजिएको आरोप नै लगाए ।
चुनावी गठबन्धनमा पनि विमति
चुनावी गठबन्धन गर्न नहुने भन्दै कस्सिएका विश्वप्रकाश केहि समय पहिलेसम्म आवश्यकताको आधारमा निर्णय लिनुपर्नेमा जोड दिन्थे भने पछिल्लो समय चुनावी गठबन्धन गर्नै नहुनेमा केन्द्रिकृत बन्न पुगेका छन् ।
चुनावी गठबन्धन गर्न नहुने मत राखेका विश्वप्रकाशले भनेजस्तै पार्टीमा त्यो निर्णय लागू हुन्छ वा हुन्न भन्ने विषय भने निर्वाचनको सम्मुखमा मात्रै थाहा हुने विषय हो ।
पार्टी नेतृत्वमा पुग्ने सम्भावना बोकेका विश्वप्रकाश शर्माले अहिलेदेखि नै फरक मत राखेर आफुलाई जनता र पार्टीमा स्थापित गराउने ध्यान केन्द्रित बनाउन थालेका छन् ।
पार्टीमा प्रतिस्प्रर्धी रहेका गगन थापालाई एक कार्यकाल सघाए अर्को कार्यकाल आफू आउन सक्ने ठानेका विश्वप्रकाशले रणनीतिक रुपमा चालेका कदम कति सफल होलान् ? आफैले बोलेका कुराहरुलाई लागू गराउने मामलामा कति सजग बन्लान् ? तमाम प्रश्नले उनको राजनीतिक भविष्य निर्धारण गर्नेछ ।