News 24 Television
दोलखामा भ्यू टावर नै अलपत्र, के गर्दैछ सरकार ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पहिलो र दोस्रो कार्यकालमा पर्यटन प्रर्वद्धधनका लागि भन्दै करोडौं रुपैयाँ खर्चेर देशका विभिन्न ठाउँमा भ्यु टावर निर्माण गर्न लगाए । 

जनताले तिरेको करबाट भ्यू टावरका नाममा करोडौं रुपैयाँ खर्च त गरियो तर, यी टावरहरुले अहिले न पर्यटक पाएका छन्, न त यिनको अवस्था नै राम्रो छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा भ्यू टावरका नाममा राज्य कोषको करोडौं रुपैयाँ स्वाह भएको छ । आफ्नो पहिलो र दोस्रो कार्यकालमा प्रधानमन्त्री ओलीले पर्यटन प्रवद्र्धन गर्ने भन्दै हचुवाको भरमा जहाँ मनलाग्यो त्यही भ्यू टावर निर्माणलाई प्रोत्साहन गरेका  थिए । त्यसको परिणाम अहिले यि भ्यू टावर अलपत्र छन् । 

दर्जनौं भ्यू टावरमध्ये दोलखाको भीमेश्वर नगरपालिकामा पनि एउटा भ्यू टावर छ । तर, यस टावरले दोलखावासीलाई कागलाई बेल पाक्यो हर्ष न बिस्मात भनेजस्तै भएको छ । प्राकृतिरुपमै मनोहर यस क्षेत्रमा थप पर्यटक भित्र्याउने भन्दै करिब साढे १ करोड रुपैयाँ खर्चेर भ्यू टावर बनाइयो । 

नगरपालिकाको कोषबाट साढे १ करोड खर्चेर बनाइएको यो टावर अहिले अलपत्र अवस्थामा छ । २०७० सालमा निर्माण शुरु गरि २०७६ मा यस टावरको निर्माण सम्पन्न गरिएको थियो । तर, निर्माण सम्पन्न भएको पाँच वर्षमा न यस टावरले पर्यटक आकर्षण गर्न सकेको छ, न त टावर आफै सुरक्षित छ । 

निमार्ण सम्पन्न भएको केही महिना राम्रैसँग सञ्चालन भएको यो भ्यु टावर कोरोना महामारी पछि भने अस्तव्यस्त अवस्थामा पुगेको स्थानीय बताउँछन् । टावरका सिसाहरु फुटेर यत्रतत्र छरिएका छन् भने कुरुवा घर पनि बिजोग अवस्थामा रहेको छ । 

स्थानीयको दबाब बढ्न थालेपछि भीमेश्वर नरपालिकाले अहिले भने भ्यू टावर सञ्चालनमा चासो देखाउन थालेको छ । नगरपालिकाले भ्यू टावर जाने बाटोमा ‘स्वास्थको फुटटेल’ नाराका साथ पैदलमार्ग निमार्ण गरेको छ । २ हजार बढि सिढीहरु सहितको यो पैदल मार्ग निर्माणको लागि नगरपालिकाले युएस एडको सहयोगमा १ करोड ३५ लाख लगानी गरिसकेको छ ।

पैदल मार्गमा ठाँउ ठाउँमा  प्रतीक्षालय बनाइएको छ भने पर्यटकहरुलाई आकर्षित गर्न भ्यु टावर आसपास बुद्धको स्तुपा पनि निर्माण गर्न लागिएको छ । भ्यू टावर सञ्चाल सँगसँगै अन्य संरचनाहरु निर्माण गरेर यस क्षेत्रमा पर्यटनको विकास गर्ने लक्ष्य नगरपालिकाको छ ।
 
दोलखालाई अनगिन्ति प्राकृतिक सम्पदाले भरिएको जिल्ला हो । ती प्राकृतिक सुन्दरता नियाल्न भनेर निर्माण गरिएको भ्यू टावरलाई व्यस्थित ढंगले सञ्चालन गर्न सके पर्यटन प्रवद्र्धनको उद्देश्यले सार्थकता पाउने देखिन्छ । 
 

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  ०७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update