News 24 Television
मालामाल प्राधिकरण, ८ वर्षमा ५५ अर्ब बढी नाफा

काठमाडौं । नेपालमा विद्युतको इतिहाँस शताब्दीभन्दा लामो छ । नेपालमा बि.स १९६८ अर्थात सन १९११ मा नै विजुली बलेको थियो । उक्त समय ५०० किलोवाट क्षमताको फर्पिङ लघु जलविद्युत् परियोजनाबाट नेपालमा विद्युत बालिएको इतिहाँस छ । फर्पिङ एसियाकै दोस्रो जलविद्युत परियोजना हो । 

यो इतिहाँस अनुसार विश्वमै बत्ति बलेको २९ वर्षपछि नेपालमा विद्युत बालिएको थियो । तर त्यसयताको राजनीतिक परिवर्तनहरु भएपनि अपेक्षित रुपमा विद्युत क्षेत्रमा भने विकास भएको देखिँदैन । 

तत्कालीन समयमा बिजुली अड्डामार्फत विद्युतीय वितरण हुन्थ्यो । हाल यो काम नेपाल सरकार अन्तर्गत कै नेपाल विद्युत प्राधिकरणले गर्दै आएको छ । विद्युत परियोजनाको सुरुवात भएको सय वर्ष पुगिसकेको अवस्थामा पनि २०६८ सालतिर मुलुककै राजधानीमै पनि १८ घण्टासम्म लाडसेडिङ खेप्नुपर्ने अवस्था थियो । तर पछिल्ला दशकमा विद्युतीय क्षेत्रमा भइरहेका विकास र प्रगतिलाई सकारात्मक मान्न सकिन्छ ।

 खासगरी यो क्षेत्रमा सरकारको प्राथमिकता र लगानी पनि बढेको छ । यसअघि विद्युत क्षेत्रमा सरकारको लगानी सन्तोशजनक रहेपनि वितरण र व्यवस्थापन अभावमा मुलुकले चरम लोडसेडिङ व्यहोर्नु परेको थियो । 

कुलमानको आगमनले प्राधिकरणमा प्रगति

पछिल्लो दशककै सुरुवातमा काठमाडौंमा चरम लोडसेडिङ हुन्थ्यो । यो अवस्थमा सरकारको लगानी र प्राथमिकता पनि उत्तिकै थियो । तर पनि काठमाडौंबासीले १८ घण्टासम्म लोडसेडिङ खेपिरहेका थिए ।  तर विद्युत प्राधिकरणको प्रमुखमा कुलमान घिसिङको इन्ट्रीसँगै विद्युत क्षेत्रले कोल्टे फेरेको हो । हाल दोस्रो कार्यकालको पनि उत्तरार्धमा रहेका कुलमानले प्राधिकरणलाई उल्लेख्य प्रगति दिलाए ।  

आर्थिक वर्ष २०७२÷७३ मा एकै वर्ष ८ अर्ब ८९ करोड खुद नोक्शानीमा थियो । तर हाल प्राधिकरणले ४७ अर्ब ४१ करोड सञ्चित नाफा कमाएको छ । कुलमान पहिलो पटक २०७३ साल भदौमा पहिलो पटक कार्यकारी निर्देशका नियुक्त भएका थिए । उक्त समय प्राधिकरण झण्डै ९ अर्ब घाटामा थियो । तर दोस्रो कार्यकालसहितको तेस्रो वर्षमा पुग्दा घाटा पूर्तीसहित प्राधिकरणले ५५ अर्बभन्दा बढी मुनाफा कमाएको हो । 

पछिल्ला ८ वर्षको अवधिमा विद्युतको महशुल ३ पटक गरी करिव २५ प्रतिशत घटाइए पनि प्राधिकरणको नाफामा वृद्धि नै भइरहेको कुलमान घिसिङले बताएका छन् । प्राधिकरणका करिब ५९ लाख ग्राहकमध्ये करिव २२ लाख ग्राहकलाई न्युनतम शुल्क ३० रुपैयाँ तथा सिंचाईको लागि प्रतियुनिट २ रुपैयाँमै विद्युत उपलब्ध भइरहेको प्राधिकरणको भनाइ छ ।

हाल प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत भारतीय प्रतिष्पर्धी बजारको डे–अहेड र रियल टाइम मार्केट र मध्यकालीन सम्झौता बमोजिम पनि विद्युत निर्यात गरिरहेको छ ।  

यसका अलावा प्राधिकरणले नेपाल, भारत र बंगलादेशका निकायहरुबीच त्रिपक्षीय सम्झौता गर्ने पनि तयारी गरिरहेको छ । तर बंगलादेशमा सिर्जना भएको राजनीतिक असहजताको कारणले यो प्रक्रिया हाल सम्झौता रोकिएको छ । यद्यपि अवस्था सहजहुनासाथ सम्झौता सम्पन्न गरी यसै वर्ष विद्युत निर्यात शुरु गर्ने प्रधिकरणको तयारी छ । साथै प्राधिकरणले आफ्नो पुँजीमा तत्कालका लागि १० प्रतिशत शेयर आम सर्वसाधारणलाई निष्कासन गरी सङ्कलन गरिएको रकम ठूला जलविद्युत आयोजनाहरुमा लगानी गर्ने तयारी पनि थालेको छ । 

तर ड्रेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत प्रयोग गरेका उद्योगीहरु प्राधिकरणले मनोमानी ढंगले विल पठाएको भन्दै कुलमानमाथि प्रश्न गरेपछि विवाद सिर्जना भएको छ । 

यो विषयलाई संसदीय लेखा समितिले अध्ययन गरिरहेको छ । तर अध्ययनका क्रममा पनि समितिमै  कुलमानले फेक आयस्रोत देखाएका आरोप लगाइएको थियो । तर यसमा कुलमानले भने तथ्यसहितको नाफा विवरण प्रस्तुत गरिदिएका छन् । 

यसरी कुलमानको नेतृत्वमा प्राधिकरणले गरेको प्रगतिलाई सकारात्मक मान्नुको विकल्प छैन । यद्यपि केही दलले राजनीतिक रवाफमार्फत कुलमानमाथि दवाव र प्रभाव पार्ने गरिएको देखिन्छ । प्राधिकरणको सताब्धिऔँ लामो इतिहासमा कुलमानको नेतृत्व विद्युत क्षेत्रका लागि स्मरणयोग्य रहने पक्का छ । 

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  ०७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update