काठमाडौं । नक्सा पास नगरी भवन निर्माण गर्नु गैर कानूनी मात्रै होइन भवन भत्काउन आदेश दिन सक्ने व्यवस्था छ । काठमाडौंको नक्सालमा रहेको ‘हिल्टन होटेल’ले भवनको नक्सापास नगरेको भन्दै काठमाडौं महानगरपालिकाले छानविन शुरु गरिसकेको छ ।
महानगर भित्र अवैध संरचना बनाउने माथि कडा रुपमा प्रस्तुत भएका मेयर बालेन साहले ‘हिल्टन होटेल’ लाई कस्तो कारवाही गर्छन् ? त्यो सर्वत्र चासोको विषय बनेको छ ।
जगदम्बा गुप्रको नाममा रहेको जग्गमा बनेको भवन ‘हिल्टन होटेल’ को नामले सञ्चालनमा आइसकेको छ । शुरुमा भवनको मात्रै नक्सापास गरेको र पछि हिल्टन होटेलको कन्सेप्टपछि भवनको संरचना नै परिर्वतन गरिएको छ ।
नक्सामा नभएका शिशाका ग्लासा हालेपछि मापदण्डविपरित रहेको भन्दै महानगरले छानविन प्रक्रियालाई अघि बढाई सकेको छ ।
होटेल कति तारे हो भनेर विभागले वर्गीकरण गरि नसकेको भएपनि दुईसाता अघि प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखकसहित सहभागी भएर भव्य उद्घाटन गरिसकेका छन् । भव्य उद्घाटन गरिएपनि होटलको नक्सा पास भएको तथ्यांक महानगरमा छैन ।
नक्सापास नगरिएको भवनमा व्यवसाय गर्न नमिल्ने प्रावधान छ । चर्चित अमेरिकी चेन होटल हिल्टनको ब्राण्डमा होटल खोलिएकोमा नक्सापास समेत नभएपछि अब हिल्टनको ब्रान्डमा समेत धक्का लागेको छ ।
मध्य काठमाडौं, त्यसमाथि भिआइपी क्षेत्रमा गगन चुम्बी भवनले सुरक्षा थ्रेट पनि बढाएको छ । होटलबाट नजिकै रहेको प्रहरी मुख्यालयलाई नै सुरक्षा जोखिम बढेको छ । होटलको छतबाट प्रहरी प्रधान कार्यालय ‘फायरिङ रेञ्ज’मा छ भने सबै गतिविधि देखिन्छ । यस्तोमा त्यति विशाल भवनका लागि कसरी अनुमति दिइयो भन्ने प्रश्न पनि खडा भएको छ ।
यता स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले नक्सा पास नगरी भवन निर्माण गर्नु गैर कानुनी मान्छ । यस्तोमा स्थानीय प्रमुखले भवन वा कुनै भाग भत्काउन आदेश दिन सक्ने व्यवस्था छ ।
यसअघि होटेल निर्माणका लागि जग खन्ने क्रममा जमिनमुनि अत्याधिक खन्दा नक्सालस्थित मुल सडक भासिएको थियो भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फाइल नियन्त्रणमा लिएको थियो ।
भूकम्पीय दृष्टिले जोखिम र व्यवस्थित बस्ती विकासको मर्मविपरीत भवन बनाउँदा खाली छाड्नुपर्ने क्षेत्रफल घटाउने र कम जग्गामा अग्ला भवन बनाउन मिल्ने गरी मापदण्ड संशोधन गरिएपछि कानूनी छिद्रामा टेक्दै व्यवसायीहरूले मनपरी भवन खडा गरेका छन् । सरकार नै लचिलो बन्दा जताततै गगनचुम्बी भवनको थुप्रो लागेको छ ।