News 24 Television
न रह्यो जग्गा, न बन्यो अस्पताल ! निर्माणकार्य अलपत्र 

ओखलढुङ्गा । ओखलढुंगामा प्रादेशिक अस्पताल निर्माण योजना अलपत्र बनेको छ  । झन्डै ३ वर्ष अघि ओखलढुंगा सहित उदयपुर, खोटाङ, र सोलुखुम्बु गरी चार जिल्लालाई सेवा दिने उद्देश्यले प्रादेशिक अस्पताल निर्माण गर्ने निश्चित भएको थियो । तर, योजना अझै अलपत्र छ । 

चिकित्सा शिक्षासमेत अध्ययन अध्यापन गर्ने गराउने लक्ष्य सहित ओखलढुंगामा अघि सारिएको प्रादेशिक अस्पताल निर्माण योजना तीन वर्षसम्म पनि अलपत्र छ  । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ७ टोक्सेलका स्थानीय बलराम गौतमसँय यसै ठाउँमा १० रोपनी जग्गा थियो । ३ वर्ष अघि ८ रोपनी जग्गा अस्पताल निर्माणका लागि प्रदान गर्ने निर्णय गरे । 

त्यसबेला निःशुल्क रुपमा जग्गा प्रदान गर्ने कुरा उनका छोराहरुलाई चित्त बुझेको थिएन । तर आफ्नै गाउँमा प्रदेश स्तरको सुविधा सम्पन्न अस्पताल बन्ने कुराले हर्षित भएका उनले खुसीसाथ जग्गा प्रदान गरे । तर, जग्गा दिएको यतिका समय बित्दासमेत अस्पताल निर्माणको कामले गति लिन नसक्दा उनी निराश छन् ।
 
यस्तै अवस्था मनोभाव अर्का जग्गादाता डम्बरकुमारी गौतमको पनि छ । परिवारका अन्य सदस्यसहित झन्डै १५ रोपनी जग्गा उनिहरुले अस्पताल निर्माणको लागि प्रदान गरेका छन ।आफ्नै गाउँको विकास हुने कुराले ढुक्क भएकी उनलाई अस्ताल निर्माणका लागि बजेट नै आएको छैन भन्दा चिन्ताले सताउन थालेको छ । 

उनिहरु जस्तै टोक्सेलका झन्डै २० घरपरिवारले १ सय ६६ रोपनी जग्गा निःशुल्क रूपमा प्रदान गरेका छन । एक परिवारले कम्तीमा १ रोपनी देखी ३५ रोपनी सम्म जग्गा अस्पताल निर्माणका लागि प्रदान गरिएको थियो । तर जग्गा प्रदान गरिएको लामो समय बिते पनि अस्पताल निर्माणको लागि पर्याप्त बजेट नआउँदा जग्गा सम्याउने बाहेक अन्य काम हुन सकेको छैन ।

सुरुमा ५० शैयादेखि सञ्चालन गर्ने गरी अस्पताल निर्माण गरिने योजनामा छ । निर्माण सम्पन्न हुँदा २ अर्ब भन्दा बढी लागत अनुमान डीपीआरमा गरिएको छ । अस्पताल निर्माणका लागि बहुवर्षिय योजना बनाई रकम बिनियोजन गरिने भनिएको थियो । तर हालसम्म प्रदेशबाट जम्मा४५ लाखमात्रै बजेट आएको र त्यो पनि जग्गा सम्याउनमै खर्च भइसकेको छ। 

शिक्षा, स्वास्थ्य र पूर्वाधार लगायतको विकासमा पछि परेको ओखलढुंगाको मुहार अस्पताल निर्माणले फेरिने आशामा थिए स्थानीय । तर, सम्बन्धित निकाय गम्भीर नबन्दा उनिहरुको आशा अब निराशामा परिणत हुँदै गएको छ । 

प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  ०७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update