News 24 Television
खानेपानीभित्रै मच्चियो हंगामा : कोही अख्तियारमा, कोही सञ्जालमा  

महोत्तरी । मधेश प्रदेशको मध्यविन्दुमा रहेको महोत्तरीको बर्दिवास विकासका पूर्वाधारदेखि व्यापार अनि शिक्षालगायतका विभिन्न पक्षले चर्चा रहेको शहर हो  । विकासका काममा फड्को मारिरहेको शहर हो बर्दिवास । तर, राम्रा कामको प्रशंसा भइरहेकै समय यहाँ विकृति र विसंगतिका ग्राफ पनि बढिरहेका छन् । 

पूर्वाधार, शैक्षिक, व्यापारिक एवम् अन्य विभिन्न पक्षमा विकासको फड्को मारिरहेको महोत्तरीको बर्दिवास शहरमा विसंगतिहरु पनि बढिरहेका छन् । खानेपानी जस्तो संवेदनशिल क्षेत्रमा नै विसंगति बढेको देखिन्छ । 

पछिल्ला दिनहरुमा बर्दिवास साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थानमा अध्यक्षबाट अनियमितता भइरहेको आरोप लागिरहेको छ । स्वार्थसिद्धको लागि विधानविपरित काम गरेर उपभोक्ताहरुको अपेक्षामा ठेस पु¥याएको भन्दै  सचिव र कोषाध्यक्ष आक्रोशित छन् ।  

कोषाध्यक्ष भोज प्रसाद फुयालको हस्ताक्षर हटाएर महिनौदेखी उपभोक्ताहरुको पैसाको दुरुपयोग र अनियमितता भएको र कार्यालय संचालनार्थ काम गर्नुपर्ने सचिव भण्डारीलाई समेत हटाएर जनमतको उपेक्षा गरेको उनिहरुले बताएका छन । आन्तरिक रुपमा आम उपभोक्तालाई थाहा नै नदिएर भित्री बदमासीहरुलाई ढाकछोप गर्न विशेष साधारणसभा समेत गरिएको कोषाध्यक्ष फुयालको दाबी छ । 

एकै परिवारको ७ जनासम्म उपस्थित गराएर विशेष साधारणसभाबाट अध्यक्ष अनुकुल हुनेगरी विधान संसोधन समेत गरिएको पदाधिकारीहरुको आरोप छ । 

खानेपानी क्षेत्रमा देखिएको यो विकृतिले खानेपानी व्यवस्थापनमा दीर्घकालीन प्रभाव पर्ने देखिन्छ । विधानमा समेत उपभोक्ताहरुको ६० प्रतिशत उपस्थिति विना न कुनै विधान संशोधन गर्न मिल्छ न त कुनै निर्णय नै गर्न मिल्छ । तर, ६ हजार उपभोक्ताहरुलाई उपेक्षा गर्दै परिवारभित्रका आफ्न्तहरु मिलाएर १६८ जनाको हस्ताक्षर बटुल्दै विशेष साधारणसभा गरेको आरोप सरोकारवालाहरुको छ ।

यि नै हस्ताक्षरलाई आधार बनाएर  विशेष साधारणसभा गरि नगरपालिकाको मिलोमतोमा दर्ता गरिएको खुलासा भए पछि विधानमा हँुदै नभएको नियम बनाएर बहुमत सदस्यहरुको फर्जी विधानको जगमा कोषाध्यक्ष र सचिवलाई निकाल्ने काम भएको छ । साथै अध्यक्ष सेनले खुसुक्क विधान परिवर्तन गरेर आफुखुसी संस्थाको पैसा १ लाख ५० हजारसम्म चलाउन मिल्ने र पदाधिकारीको कार्याकाल ३ बर्षलाई थपेर ५ बर्ष पु¥याएका छन् । 

संस्थाको पैसा अपचलन गरेको, कोषाध्यक्षको हस्ताक्षर विना कोषको चरम दुरुपयोग गरेको, दैनिक लाखौ रुपैया संस्थामा बेथिती देखिएको भन्दै कोषाध्यक्ष र सचिवले जिल्ला प्रशासन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत दिएका छन ।

यता, अध्यक्ष भुलन सेन र सदस्य घिमिरे भने खानेपानी संस्थानमाथी लागेका आरोपहरु निराधार भएको जिकिर गरिरहेका छन् ।

अनियमितताको कुरा बाहिरिएपछि बर्दिवास नगर क्षेत्रका स्थानीयहरुले सामाजिक सञ्जालबाट नै खबरदारी शुरु गरेका छन् । 

खानेपानी जस्तो संवेदनशिल क्षेत्रमा देखिएको यस्तो वेथितिले भविष्यमा गम्भिर संकटको जोखिम बढाउने देखिन्छ । 

प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  ०६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update