काठमाडौं । स्वेच्छिक रुपमा अलग बसिरहेका र भर्खरै सम्पर्कमा आएका आदिवासीहरुको अधिकार संरक्षण भन्ने संयुक्त राष्ट्रसंघको मूल नारासहित शुक्रबार ३०औं विश्व आदिवासी दिवस मनाइयो ।
संयुक्त राष्ट्र संघको आह्वानमा विश्वभरका आदिवासी जनजातिहरूले सन् १९९५ देखि हरेक वर्ष अगस्ट ९ मा यो दिवस मनाउने गरेका छन् । ३०औँ आदिवासी दिवस मनाइरहँदा नेपालमा भने अझै पनि आदिवासीले यथोचित अधिकार नपाएको अधिकारकर्मीहरुको गुनासो छ ।
३०औँ विश्व आदिवासी जनजाति दिवसको अवसरमा शुक्रबार काठमाडौंमा विभिन्न जातजातिको झाँकी तथा ¥याली निकालिएको छ । नेपाल आदिवासी जनजाति महासंघको संयोजनमा भएको झाँकी तथा ¥यालीमा तामाङ, गुरुङ, मगर, नेवार, छन्त्याल, कुमाल, थारु, राई र लिम्बू जातिका सांस्कृतिक झाँकीहरु प्रस्तुत गरिएको थियो । सन् १९९४ देखि अगस्ट ९ लाई संयुक्त राष्ट्र संघको आह्वानमा विश्व आदिवासी दिवस मनाउन थालिएको हो । नेपालमा पनि यो दिवस विविध कार्यक्रम गर्दै धुमधामका साथ मनाउने गरिएको छ ।
नेपाल आदिवासी जनजाति महासंघले यस वर्ष यो दिवसका लागि ‘संविधान प्रदत्त अधिकार आदिवासीहरूको विशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कार्यान्वयन गर, प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषा आदिवासी जनजातिको भाषा लागू गर भन्ने नारा तय गरेको थियो ।
संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय श्रम सङ्गठन आइएलओले संसारमा सबैभन्दा बढि श्रमिकहरू आदिवासीहरू रहेको पाएपछि उनीहरूको वर्गीय उत्थानका निम्ति यो दिवसको सान्दर्भिकता महशुष गरेको हो । तर नेपाल सरकारले अनुमोदन गरेको आइएलओ महासन्धि–१६९ र संयुक्त राष्ट्रसंघले आदिवासी अधिकार सम्बन्ध घोषणापत्र युएनड्रिपमा भएको व्यवस्था लागू गर्नेतर्फ चासो नदिएको आदिवासी अधिकारर्मी गुनासो गर्छन् ।
यस्तै आदिवासी जनजातिको मातृभाषा प्रवद्र्धन गर्न हालसम्म पनि नेपाल सरकारले कानुन, नीति नियम बनाउन सकेको छैन । नेपालको सन्दर्भमा अहिले पनि आदिवासी दिवस शिक्षित वर्ग र काठमाडौं उपत्यकामै सीमित छ । गाउँगाउँमा आदिवासी दिवस र अधिकारका विषयहरू अझै पुग्न सकेका छैनन् भने विश्व आदिवासी दिवस र मुद्दाबारे सर्वसाधारण दुरदराजका धेरै आदिवासी तथा जनजाति अनभिज्ञ नै छन् ।