News 24 Television
विद्युत प्राधिकरणको खुद नाफा १३ अर्ब ३१ करोड

काठमाडाैँ । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्षमा १३ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा कमाउन सफल भएकाे छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइन विद्युतको महशुल नजोडेर नै प्राधिकरणले उक्त नाफा कमाउन सफल भएकाे दाबी गरेका छन् ।

शुक्रवार प्राधिकरणमा दोस्रोपटक जिम्मेवारी सम्हालेको तीन वर्षे उपलब्धि सार्वजनिक गर्दै कार्यकारी निर्देशक घिसिङले यस्तो दाबी गरेका हुन् । उनले पछिल्लो समय विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन विद्युतको महशुल जोडेर कागजी रुपमा नाफा देखाएको आरोप सत्य नभएको उनले बताए । उनले विद्युत प्राधिकरणले विगत ८ वर्षमा ३५ अर्बको सञ्चित घाटालाई पूर्ति गरेर ४७ अर्ब सञ्चित नाफामा पुगेको बताए । उनले ४७  अर्बको नाफा डेडिकेटेड र ट्रंक लाइनको बिलले नभएको उनकाे दाबी छ ।

डेडिकेटेड र ट्रंक लाइन विद्युतको महशुल बिलको केही अंश भए पनि ४७ अर्ब नाफा महालेखा परीक्षकको कार्यालयले गरेको लेखापरीक्षणबाट आएको विवरण रहेको भन्दै उनले महालेखापरीक्षकले गरेको अडिट गलत नभएको बताएका छन्। उनले आर्थिक वर्ष २०७२/७३ मा एकै वर्ष ८ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्शानीमा रहेको प्राधिकरणले त्यसयता भने नाफा कमाउन थालेकाे घिङिसकाे भनाइ छ ।

कार्यकारी निर्देशक घिसिङकाअनुसार आर्थिक वर्ष ०७३/७४ मा १ अर्ब ५० करोड रुपैया खुद नाफा कमाउँदै प्राधिरणले शुरु गरेको नाफाको इतिहास गत आर्थिक वर्षमा १३ अर्ब ३१ करोड रुपैयाँ पुगेको हाे ।  यस अवधिमा विद्युतको महशुल ३ पटक गरी करिव २५ प्रतिशत घटाइए पनि नाफामा वृद्धि नै भइरहेको उनकाे भनाइ छ । प्राधिकरणका करिब ५९ लाख ग्राहकमध्ये करिव २२ लाख ग्राहकलाई न्युनतम शुल्क ३० रुपैयाँ मात्र कायम गरी ऊर्जा निःशुल्क गरिएको उनको भनाई छ । 

उनले तीन वर्षको अवधिमा प्राविधिक र गैरप्राविधिक विद्युत चुहावट घटाउन, अधिकतम ग्राहकसम्म पहुँच बढाउन, वित्तीय खर्च घटाउन, राजश्व बढाउन, प्रशारण तथा वितरण लाइन र सबस्टेसन बिस्तार गर्न संस्थागत सुशासनमा सुधार गर्दै नाफा कमाउनमा प्राधिकरणलाई ठूलो सफलता हात परेको बताएका छन् ।

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  १५:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update