काठमाडौँ । चिकित्सा क्षेत्रमा एन्टिबायोटिक औषधिको विकासले रोग उपचारका लागि सहज त बनाएको छ । तर, यसको सहि प्रयोग भन्दा पनि दुरुपयोगका कारण जीवन प्रदान गर्ने औषधि नै मन्द विषमा परिणत बन्न पुगेको छ ।
व्याक्टेरिया, ढुसी र भाइरस जस्ता सूक्ष्मजीहरुबाट हुने स्वास्थ्य समस्या उपचारका लागि एन्टिबायोटिक तथा एन्टिमाइक्रोवियल औषधिको प्रयोग हुने गर्दछ । यस्ता औषधीको विकासले स्वास्थ्य उपचारमा सहजता बनाउनुका साथै रोगीलाई जीवनदान समेत प्रदान गदै आएको छ । तर, पछिल्लो समय व्याक्टेरिया, ढुसी र भाइरस जस्ता सूक्ष्मजीहरुबाट निम्तने रोग उपचारमा उपयोगी एन्टिबायोटिक तथा एन्टिमाइक्रोवियल रेसिस्टेन्स अर्थात औषधीले काम नै नगर्ने भएको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक हर्ने हो भने विश्वमा भएका मृत्यु मध्ये १२ लाख ७० बढि मृत्यु एन्टिबायोटिक औषधिले काम नगरेकै कारण भएका छन् । नेपालमा पनि यस्ता घटना बढेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रोगको जटिलताका आधारमा कुन अवस्थमा एन्टिबायोटक औषधीको सिफारिस चिकित्सकले गर्न पाउँने भन्ने विषयमा २०७१ सालमै मापदण्ड बनाएको छ । तर मापदण्ड विपरित एन्टिबायोटिक औषधीको सिफारिस गर्ने क्रम पनि बढेको देखिन्छ । साथै चिकित्सकले सिफारिस गरेको भन्दा बढि वा कम औषधी सेवन गर्ने बिरामीको संख्या पनि उस्तै छ ।
नेपालमा एन्टिबायोटिक प्रयोगको अवस्था
- नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययन अनुसार नेपालमा कडा खालको एन्टिबायोटिक प्रयोग गर्नेको संख्या ७० प्रतिशत
- चिकित्सकको सिफारिस बिना एन्टिबायोटिक वितरण गर्ने लगभग ४४ प्रतिशत
- बहिरङ्ग विरामीले चिकित्सकको सिफासिस बिना एन्टिबायोटिक खदिन २८ प्रतिशत
यो तथ्यांकले पनि नेपालमा पछिल्लो एन्टिबायोटिकको प्रयोग जथाभावी भएको प्रष्ट पार्छ । यसको नियमन आवश्यक छ ।
जीवाणुबाट हुने स्वास्थ्य समस्या उपचारका लागि सन् १९३२ मा सल्फोनामाइड नामक एन्टिबायोटिकको विकास पहिलो पटक गरिएको थियो । पछिल्लो एक दशक वर्षयता एन्टिबायोटिकको सेवन जथाभावी बढ्नुका साथै उत्पादन बढाउने नाममा कृषि, पशुपक्षीमा समेत यस्ता औषधी प्रयोग बढेका कारण प्रत्यक्ष तथा अपक्ष रुपमा यस्ता औषधी हाम्रो शरीर भित्र प्रवेश भइरहेको छ । यसरी मानव रक्षाका लागि बनाएका यस्ता औषधीको दुरुपयोग बढ्दै गएका कारण मानव जीवन नै संकटमा फस्ने निश्चित जस्तै बनेको छ ।