News 24 Television
बेलायतमा चर्कियो प्रदर्शन, नेपालीको अवस्था के ? 

काठमाडौँ । बेलायता तीन बालिकाहरूको छुरा प्रहारबाट ज्यान जानेगरी आक्रमण भएपछि बेलायतमा फैलिएको दंगाले हिंसात्मक रुप लिएको छ । छुरा प्रहार गर्ने व्यक्तिको परिचयमा दिइएको मिथ्या सूचनाले त्यहाँको प्रदर्शन आप्रवासी र अल्पसंख्यक लक्षित बनेको छ । प्रधानमन्त्री किअर स्टार्मरले दंगाका घटनाहरूलाई चरम दक्षिणपन्थी अपराधीहरूको काम भन्दै हिंसात्मक गतिविधिहरूमा संलग्न कानूनी दायरामा आउने बताएका छन् । 

बेलायतको साउथपोर्टको गत साता एक पार्टीमा एक १७ वर्षीय युवाको चक्कु प्रहारबाट तीन जना बालिकाको ज्यान गएपछि चर्किएको प्रदर्शनका क्रममा ४ सय भन्दा बढी पक्राउ परिसकेका छन् । छुरा प्रहारको घटनाले शोकमग्न भएकै बेला चरम दक्षिणपन्थी समूहहरूले सो घटनालाई आफ्ना कट्टरपन्थी विचारहरू फैलाउन र मुस्लिम तथा अश्वेत मानिसहरूलाई विरुद्ध भड्काएका छन् । उनीहरुले छुरा प्रहार गर्ने व्यक्ति शरणार्थी र मुस्लिम रहेको भन्ने मिथ्या सूचना फैलाएपछि प्रदर्शन आप्रवासी र खासगरी मुस्लिम विरोधी बनेको हो । 

असन्तोष बढ्दै जाँदा प्रर्दशनकारीहरूले प्रहरीमाथि ढुंगाका साथै टियर बम र अन्य वस्तुहरू प्रहार समेत प्रहार गरिरहेका छन् । प्रदर्शनकारीको निसानामा विभिन्न होटलहरूमा राखिएका शरणार्थी आवेदकहरू समेत परिरहेका छन् । बुधवारमात्रै देशभर ३० भन्दा स्थानमा प्रदर्शन भएका छन् । बेलायतभरि नै दङ्गा र हिंसात्मक घटनाहरू हुन थालेपछि नेपाल लगायत भारत, नाइजेरिया र मलेशियाजस्ता देशहरूले बेलायत यात्रा गर्न लागेका र त्यहाँ रहेका आ–आफ्ना नागरिकका लागि सुरक्षा निर्देशनहरू जारी गरेका छन् ।

 ब्रिटिश प्रधानमन्त्री किअर स्टार्मरले दङ्गाका घटनाहरूलाई चरम दक्षिणपन्थी अपराधीहरूको काम भन्दै त्यस्ता हिंसात्मक गतिविधि गर्नेहरु कानूनी दायरामा आउने बताएका छन् । जारी प्रदर्शनले  आप्रवासन र साना डुङ्गाहरू चढेर बेलायत प्रवेश गर्ने आप्रवासीहरूको मुद्दालाई फेरि चर्चामा ल्याइदिएको छ । यो पछिल्लो घटनाले बेलायतमा अनावश्यक आप्रवासीहरू भित्राउन रोक लगाउनु पर्ने माग समेत चर्को बन्दै गएको छ । गत फेब्रुअरीमा इप्सोस सर्वेक्षणका अनुसार ५२% मानिसहरू हालको आप्रवासन स्तरलाई एकदमै उच्च मानिरहेका छन् । केही प्रदर्शनकारीहरूले दंगाका क्रममा पसलहरूमा लुटपाट गर्ने जस्ता आपराधिक गतिविधि पनि गर्ने गरेका छन् भने केहीले भने यसलाई वर्षौँदेखिको सरकारी मितव्ययितासम्बन्धी नीति र स्थानीय सेवाहरूमा गरिएको खर्च कटौतीका कदमहरूको असरहरूतर्फ पनि संकेत गरिरहेका छन् । 

नेपालीको अवस्था

यो प्रदर्शनबाट बेलायतमा रहेका नेपाली पनि प्रभावित बनेका छन् । नेपालीहरूको उल्लेख्य बसोबास र व्यवसाय रहेको अल्डरसट सहरमा बुधबार प्रदर्शन हुने भएपछि नेपाली समुदाय त्रासमै बस्यो । प्रदर्शन हुने भएपछि नेपालीहरको बढि बसोबास भएका क्षेत्रहरुमा उनीहरुले सञ्चालन गरेका व्यापार व्यवसाय बन्द गरिए । त्यस्तै नेपाली सम्बन्धी विभिन्न संघ संस्थाहरुले सचेत रहन अपिल पनि गरेका छन् । 

 

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  ०९:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update