काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल नागरिक उडडयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीलाई पदमुक्त गराउने विषयमा कानूनी परार्मश भइरहेको बताएका छन् ।
एयर डाईनेष्टीको हेलिकप्टर दुर्घटनाका विषयमा बिहीवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् ।
मन्त्री पाण्डेले मातहतका निकायलाई कारबाही गर्ने प्रश्नमा सरकार गम्भिरतापूर्वक लागिपरेको बताए । उनले आफूले गरेको निर्णय फेरि अदालतबाट बदर नहोस् भन्नका लागि सो निर्णय लिनुअघि आफूले कानूनी परामर्श अघि बढाएको पनि समितिमा स्पष्टिकरण दिए ।
मन्त्री पाण्डेले नैतिकता लाद्ने विषय नभएको हुनाले त्यसमा जिम्मेवार व्यक्ति आफैँ सचेत हुनुपर्ने बताए । समितिको बैठकमा सांसदहरुले महानिर्देशक अधिकारलाई पदमुक्त गरेर मात्रै छानविन प्रक्रिया अघि बढाउन सरकारलाई सुुझाव दिएका थिए ।
मन्त्री पाण्डेले संसद र संसदीय समितिले दिएको निर्देशन अनुसार सरकार चल्नुपर्ने भएकाले पनि समितिको निर्देशन आफूहरुले पालना गरेर अघि बढ्ने बताए ।
बैठकमा सत्तारुढ दलका सांसदहरुले नै प्राधिकरणका पदाधिकारीलाई पदमुक्त गर्न मन्त्री पाण्डेको ध्यानाकर्षण गराएका थिए । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधीले महानिर्देशक अधिकारीलाई बहाल राखेर हुने कुनै पनि छानविन निष्पक्ष हुनै नसक्ने भएकाले पनि उनलाई पदमुक्त गर्न आवश्यक रहेको तर्क गरे ।