काठमाडौं । नमस्ते पे र नबिल बैंक बीच प्रयोगकर्ताहरूलाई नबिल बैंकको मोबाइल बैंकिङ एप मार्फत सीधै नमस्ते पे वालेटमा पैसा लोड गर्न सक्ने सेवा प्रदान गर्ने समझदारी भएको छ । मंगलबार आयोजित एक कार्यक्रमका बीच नमस्ते पे वालेटका तर्फबाट डेपुटी सिइओ विनय बिजुक्छे र नबिल बैंकका तर्फबाट रिटेल कारोबार बैंकिङ प्रमुख निरज शर्माले समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो ।
नबिल बैंक र नमस्ते पे बीचको यो साझेदारीले प्रयोगकर्ताहरूलाई आफ्नो नमस्ते पे मोबाइल वालेटमा नबिल बैंकको मोबाइल बैंकिङ एपबाट सहजरुपमा पैसा लोड गर्न सक्ने सुविधा प्रदान गर्दछ ।
नमस्ते पे प्रयोगकर्ताहरूले अब नबिल बैंकको मोबाइल बैंकिङ एप मार्फत सहज तरिकाले आफ्नो आवश्यकता अनुरुप पैसा लोड गरि विभिन्न सेवाहरुको भुक्तानी गर्न सक्नेछन्। नमस्ते पे र नबिल बैंक बीचको यो साझेदारीले डिजिटल भुक्तानी सेवाहरूमा सुविधाको विस्तार गरी उपभोक्ता अनुकूल सेवा प्रदान गर्न नमस्ते पे को प्रतिबद्धतालाई जोड दिन्छ।
नमस्ते पे सधैँ नयाँ सेवाहरू जस्तै: USSD (अफलाइन) मोड, स्प्लिट बिल, र रिक्वेस्ट मनी जस्ता सुविधाहरू प्रस्तुत गर्न अग्रणी रहेको छ । यी अपडेटहरू नमस्ते पे को डिजिटल भुक्तानी समाधानलाई सबैका लागि पहुँचयोग्य बनाउन, डिजिटल विभाजनलाई कम गर्न र नेपालमा वित्तीय समावेशीकरणलाई प्रवर्द्धन गर्न गरिएको निरन्तर प्रयासको एक हिस्सा हो ।
नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने उद्देश्यले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड द्वारा शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ। जस अनुरुप *500# डायल गरेर नमस्ते पे प्रयोगकर्ताहरूले अफलाइन सेवाहरूको फाइदा लिन सक्दछन् ।
रिचार्ज, बिल भुक्तानी, पैसा थप्नुहोस्, पैसा पठाउनुहोस्, व्यापारी भुक्तानी जस्ता सेवाहरू अफलाइन उपलब्ध छन् । नेपाल टेलिकमको सिम भएका प्रयोगकर्ताहरूले USSD (अफलाइन) सेवाहरू प्रयोग गर्न सक्दछन् ।
थप जानकारीका लागि www.namastepay.com मा हेर्नुहोस् ।