News 24 Television
कञ्चनपुरका राना थारु समुदायले मनाए तीज

कञ्चनपुर । कञ्चनपुरका राना थारु समुदायले धुमधामका साथ तीज मनाएका छन् । तीज पर्व राना थारु समुदायका महिलाको महत्वपूर्ण पर्वका रुपमा रहेको छ । राना थारुको बहुुल्यता भएका गाउँहरुमा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिएका छन् ।

यो सामुुदायको तिज मनाउन कञ्चनपुुर र कैलालीका केही स्थानिय तहले सार्वजनिक बिदा समेत दिएका थिए । 

नेपाली हिन्दु नारीहरुको महान चाड हारितालिका तिज आउन झण्डै एक महिना बाँकी छ । तर कञ्चनपुरका मूल निवासी राना थारु समुदायका महिलाले भने श्रावण शुक्लपक्षको तृतीया तिथि पारेर बुधबार नै तीज मनाएका छन् । 

यो समुदायले हरेक वर्ष श्रावण शुक्ल तृतीयाका दिन तीज मनाउने गर्दछन् । श्रावण शुक्ल तृतीयामा मनाउने तीजका लागि राना थारु समुदायमा दाजुभाइले १५ दिन अगावै दिदीबहिनीको घरमा गएर निम्ता दिने चलन छ । 

तीजका दिन पुरी, पापड, सेमइ, पकौडा लगायतका विशेष परिकार बनाएर चेलीबेटीसँगै छिमेकी र आफन्तलाई समेत खुवाउने गरिन्छ । छुट्टै पहिचान र मौलिक संस्कृति रहेको यो समुदायमा दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गर्दै व्रत बस्ने चलन छ । तीज पर्वको आगमनसँगै सार्वजनिक स्थान, बगैँचा र सामूहिकरुपमा भेला हुने ठाउमा दाजुभाइले दिदीबहिनीका लागि डोला (पिङ) राख्ने चलन रहेको छ । 

परम्परागत आभूषण र पहिरनमा सजिएका महिलाले डोलामा चढेर ठूलो स्वरमा सावनका माङ्गलिक गीत गाउने गर्दछन् । गडरौँदा जातको घाँसमा विवाहिताले सात गाँठा र अविवाहितले पाँच गाँठा पारी चाँदीको गहनाले काटेर नदीको बीच भागमा पुगेर बत्ति संगै बिर्षजन गर्ने चलन छ ।

दिदीबहिनीले भाइभतिजाको आयु नदी जस्तै लामो होस् भन्ने कामनासहित व्रत बस्ने चलन राना थारु समुदायमा छ । आधुनिक परिवेशसंँगै बीचमा यस पर्वको मौलिकता हराउँदै गए पनि अहिले फेरि परम्परागत लयमा फर्किएको स्थानीयको भनाइ छ । 

दिदीबहिनी, दाजुभाइ भतिजाको आत्मीयता बढाउने महत्वपूर्ण पर्वका रुपमा यसलाई लिने गरिएको छ ।  

बिर्सजन गर्न जाने बेला गाँउका युवाले दिदी बहिनीलाई बाटोमा लामो डोरीमा बेरेर घेर्ने प्रयत्न गरी हस्यौली ठट्र्यौली र मनोरञ्जन लिने गर्दछन् । जसलाई राना थारु भाषामा झुडकी छिराउने भन्ने गरिन्छ । 

तीजमा माइतीलाई भेट्न नपाएका दिदीबहिनी यसै अवसरको सदुपयोग गर्दै भेटघाट गर्न आउने भएकोले यसले वर्षभरिको सुख दुःख साटासाट गर्ने अवसरका रुपमा लिने गर्दछन् । 

धेरै समय अघि राना समुदायमा बिरामी फैलिएपछि घरका कमाउने व्यक्तिको मृत्यु भई गरिबी बढेपछि दिदीबहिनीले भगवान् श्रीकृष्णको पूजाअर्चना गरेपश्चात् समाजबाट दुःख, पीडा र गरिबी हटेकाले त्यसै दिनदेखि यो पर्व मनाउँदै आएको किम्वतन्ती रहेको छ ।

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  ०७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update