News 24 Television
रोकिएन हवाई दुर्घटनाः इयूको कालोसूची झन लम्बिने खतरा 

काठमाडौं । साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमै सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । दुई साता नबित्दै बुधबार पुनः डाइनेस्टि एयरको हेलिकोप्टर दुर्घटना भएको छ । हेलिकोप्टर दुर्घटनामामा परि क्याप्टेनसहित पाँच जनाको मृत्यु भएको छ । वर्षेनि भएका हवाई दुर्घटनाकै कारण युरोपेली संघ (इयू)ले नेपाललाई आफ्नो हवाई प्रतिवन्ध सूचीमा राखेको छ । 

आज भन्दा पाँच वर्षअघि ताप्लेजुङमा एयर डाइनेस्टीकै हेलिकोप्टर दुर्घटना हुँदा तत्कालिन संस्कृति पर्यटन तथा नागरिक उड्डेयनमन्त्री रविन्द्र अधिकारीसहित सात जनाको मृत्यु भएको थियो । उक्त दुर्घटनामा मन्त्री अधिकारीसहित नागरिक उड्डेयन प्राधिकरणका महत्वपूर्ण ब्यक्तिहरुको मृत्यु भएको थियो । 

खराब मौसमका कारण भएको उक्त दुर्घटनामा परि यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, नागरिक उड्डेयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र प्रसाद श्रेष्ठ, प्राधिकरणकै इन्जिनियर ध्रुवदास भोछिभया, मन्त्रीका पीएसओ अर्जुनकुमार घिमिरे र पाइलट प्रभाकर केसीको मृत्यु भएको थियो । 

त्यसअघि ताप्लेजुङकै घुन्सामा भएको बहालवाला मन्त्रीको हवाई दुर्घटनामा परि मृत्यु भएको थियो ।  सन् २००६ अर्थात वि.सं. २०६३ असोज ७ गते भएको उक्त एमआई १७ हेलिकोप्टर दुर्घटनामा तत्कालिन वन तथा भूसंरक्षण राज्यमन्त्री गोपाल राईसहित २४ जनाको मृत्यु भएको थियो । 

हेलिकोप्टर दुर्घटनाकै भयानक मानिएको सो दुर्घटनामा संरक्षणको क्षेत्रमा काम गर्ने भुगर्वविद् डा. हर्क गुरुङ, संरक्षणविद् डा. तीर्थमान मास्के, वन तथा भू–संरक्षण मन्त्रालयका सचिव डा. दामोदारप्रसाद पराजुली, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक नारायण पौडेल, विश्व वन्यजन्तु कोष नेपालका प्रतिनिधि डा. चन्द्रप्रकाश गुरुङ, विश्व वन्यजन्तु कोष एसिया प्यासिफिक प्रमुख मिङ्मा शेर्पा, ताप्लेजुङ उद्योग वाणिज्य संघका सदस्य विजयकुमार श्रेष्ठ, मन्त्री राईकी श्रीमति मीना राई लगायतको मृत्यु भएको थियो । 

प्राधिकरणको अनुसार नेपालमा सन् १९८९ मा पहिलो हेलिकोप्टर दुर्घटना भएको थियो । जतिबेला ६ जनाको ज्यान गएको थियो । अहिलेसम्म पनि नेपालमा हवाई दुर्घटनाको क्रम रोकिएको छैन । 

दश वर्षयता हरेक वर्षजस्तो हेलिकोप्टर दुर्घटना हुँदै आएका छन् । वर्सेनि जस्तो हवाई दुर्घटनाहरु भई रहँदा नेपालमा हेलिकोप्टर उडानहरुको खराब रेकर्ड भन्दै इयूले नेपाललाई हवाई प्रतिवन्ध सूचीमा राखेको थियो । 

गत वर्ष वैशाखमा सिम्रिक एयरको हेलिकोप्टर तथा सोही वर्षकै असारमा मनाङ एयरको हेलिकोप्टर दुर्घटना भएको ६ विदेशी नागरिकको मृत्यु भएको थियो । 

बुधबार पुनः काठमाडौैबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको एयर डाइनेस्टीको हेलिकोप्टर नुवाकोटको शिवपुरी गाउँपालिका ७ सूर्यचौर डाँडामा दुर्घटना हुँदा चार जना चिनिया नागरिकसहित क्याप्टेन अरुण मल्लको मृत्यु भएको छ । यसअघि १४ दिनअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमै सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । 

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  ०७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update