News 24 Television
विद्रोहीले खोजेकै व्यक्ति बंगलादेशमा अन्तरिम नेता नियुक्त

काठमाडौं । बाङ्ग्लादेशमा आन्दोलनकारीहरूले रोजेका मोहम्मद युनुसले नै अन्तरिम सरकारको नेतृत्व गर्ने भएका छन् । तत्कालिन प्रधानमन्त्री शेख हसिनाका विपक्षी रहेका नोबेल पुरस्कार विजेता मोहम्मद युनुसलाई देशको अन्तरिम नेता नियुक्त गरिएको छ । 

देशमा प्रजातन्त्र पुनस्र्थापना र सन्तुलन ल्याउन सक्ने ठानेका यी सामाजिक उद्यमी को हुन् त ?  बङ्ग्लादेशमा तत्कालिन प्रधानमन्त्री शेख हसिनाका विपक्षी रहेका नोबेल पुरस्कार विजेता मोहम्मद युनुसलाई देशको अन्तरिम नेता नियुक्त गरिएको छ । 

प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडेपछि बंगलादेशमा नोबेल पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्न अघि सारिएको हो । ८४ वर्षिय युनुसलाई अन्तरिम प्रधानमन्त्री बनाउन कैयौँ सातादेखि आन्दोलन गरिरहेका विद्यार्थी नेताहरूले समर्थन गरेका छन् । 

विद्यार्थीहरूले बङ्ग्लादेशमा प्रजातन्त्र पुनर्स्थापना र सन्तुलनमा ल्याउन सक्ने ठानेका सामाजिक उद्यमी मोहम्मद युनुसले सन् १९७० को दशकमा लघुवित्तको थालनी गरेका थिए । उनले सुरु गरेको लघुवित्तको अवधारणाले देशका कतिपय मानिसहरूलाई गरिबीको चरम अवस्थाबाट माथि उठ्न सहयोग पुर्याएको विश्वास गरिन्छ ।

चटगाउँ विश्वविद्यालय नजिकैको गरिब गाउँमा घुम्न गएको समयमा लघुवित्तको अवधारणाबाट प्रेरित भएका उनले केही गाउँलेहरूलाई थोरैथोरै पैसा दिएर लघु व्यवसायको उद्यमी बन्न प्रस्ताव गरे । उनको सहयोगमा सुरु गरिएका स्थानीय लघु उद्यमहरू निकै छिटो फस्टाए । सन् १९८० को दशकमा त्यसमा दशौँ हजार मानिसहरू सदस्य भए र त्यो ग्रामीण ब्याङ्कको रुपमा परिणत भयो । आफ्नो कामको सफलता र अन्तर्राष्ट्रिय स्तरबाट पाएको मान्यताले युनुसलाई पछ्याइरहे । 

जसको परिणाम स्वरुप उनले आफ्नो वित्तीय योगदानको लागि सन् २००६ मा नोबेल शान्ति पुरस्कार पाए । उनलाई चर्चामा ल्याएको उक्त अवधारणा अन्य विकासोन्मुख देशहरूका लागि पनि नमुना परियोजना बनेका थिए । युनुसले नोबेल पुरस्कार पाएको महिनाबाटै आफ्नो राजनीतिक संलग्नता बढाउने पनि काम गरे । तर राजनीतिक अस्थिरताका कारण विभाजित देशमा सरकारको प्रखर आलोचक भएर उनी धेरैको आँखाका तारो पनि बने । 

सन् २००७ मा उनले नागरिक शक्ति नामक राजनीतिक अभियान सुरु गरे । उनले यही अभियानबाट बङ्ग्लादेशमा तेस्रो राजनीतिक शक्ति स्थापना गर्ने प्रयास गरेका थिए । तर यो अभियानलाई हसिना र उनकी प्रतिस्पर्धी बेगम खालेदा जियाले दशकौँसम्म माथि उठ्न नदिन प्रयत्न गरे । शक्ति सङ्घर्ष र प्रतिद्वन्द्वीताका कारण विचलित भएपछि उनले आफ्नो राजनीतिक यात्रा बीचैमा छोडे । त्यसपछिका वर्षहरूमा उनको सरकारसँगको सम्बन्ध कटुतापूर्ण रह्यो ।

सन् २००८ मा शक्तिमा आएकी शेख हसिनाले उनलाई आफ्नो व्यवसायबाट गरिबहरूको “रगत चुसेको” आरोप लगाइन् । राजनीतिक प्रतिस्पर्धीलाई गरेको व्यवहारका कारण गत वर्ष संयुक्त राष्ट्रसङ्घले बङ्ग्लादेशको सरकारलाई सचेत गराएको थियो । गत वर्ष विश्वका १७० भन्दा बढी नेतृत्वदायी व्यक्तित्वले नोबेल पुरस्कार विजेता मोहम्मद युनुसमाथि भइरहेको “उत्पीडन“ रोक्न बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनासँग आग्रह गरेका थिए । र, अन्तर्राष्ट्रिय स्तरमा “गरिबका लागि ब्याङ्कर“ को ख्याति पाएका प्राध्यापक युनुसले आफ्नो पक्षमा अन्तर्राष्ट्रिय समर्थन पाउँदै आएका छन् ।

साथै शेख हसिनाले राजीनामा दिएको खबर सुनेपछि युनुसले “बङ्ग्लादेश मुक्त भएको” प्रतिक्रिया दिएका थिए ।

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  ०६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update