News 24 Television
काभा वुमन्स नेसन्स लिग भलिबलको फाइनल आज

काठमाडौं । काभा वुमन्स नेसन्स लिग भलिबलको फाइनलमा आज नेपाल र भारत आमनेसामने हुँदैछन् । खेल नेपाली समय अनुसार साँझ सवा ५ बजे त्रिपुरेश्वरस्थित कभर्ड हलमा हुनेछ । यी दुई टोलीबीच यस प्रतियोगितामा दोस्रो पटक खेल हुन लागेको हो ।

नेपालले लिग चरणमा भारतलाई ३–२ को सेटमा पराजित गरेको थियो । मंगलबार भएको सेमिफाइनलको खेलमा नेपालले इरानलाई ३–० सेटमा पराजित गर्दै फाइनलमा भारतसँगको भेट पक्का गरेको थियो । 

मंगलबार नै भारतले श्रीलंकालाई ३–० सोझो सेटमै पराजित गरेर फाइनलमा स्थान बनाएको थियो । यी दुई पराजित टोलीबीच तेस्रो स्थानका लागि आजै दिउँसो २ बजे खेल हुनेछ । सन् २०१९ मा दक्षिण एसियाली खेलकुद सागमा भारतसँग बेष्ट अफ फाइभ खेल्दै घरेलु मैदानमा उपाधि गुमाएको नेपाली टिमलाई बदला लिने अवसर रहेको छ । 

यही प्रतियोगितामा शनिबार लिग चरणको खेलमा भारतलाई हराएकाले नेपाली टिम आत्मविश्वासी छ । नेपालकी कप्तान अरुणा शाहीले मंगलबारको लय कायम राख्दै फाइनलमा भारतलाई हराउने विश्वास व्यक्त गरेकी छन् ।

उनले दर्शकका साथले पनि खेल जित्न सहयोग पु¥याएको र फाइनलमा पनि घरेलु दर्शकको यस्तै साथ रहने अपेक्षा गरेकी छन् । 

नेपालका प्रशिक्षक जगदीश भट्टले खेलाडीको क्षमता र आत्मविश्वासले भारतलाई हराएर उपाधि जित्नेमा आफू ढुक्क रहेको बताएका छन् । 

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  ०८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update